९४ बर्षिय रत्नको आँखाको सफल शल्यक्रिया
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्न राज्यलक्ष्मी देवीको आज आँखाको शल्यक्रिया भएको छ । ९४ बर्षिय रत्नको मोतिविन्दुको सफल शल्यक्रिया गरिएको उपचारमा संलग्न डा. सुमन थापाले जानकारी दिएका हुन् ।
शल्यक्रियाका क्रममा पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस, पूर्वयुवराज्ञी हिमानीलगायत राजपरिवारका सदस्यहरु क्लिनिकमा उपस्थित रहेका थिए ।
डा. थापाले सामाजिक सञ्जालमा लेखेका छन्- ‘आज विहान सुध्रिष्टि आइ सेन्टरमा रत्न राज्यलक्ष्मी देवीको आज आँखाको शल्यक्रिया भएको छ । उमेर केवल संख्या हो, ९४ वर्षमा पनि । उहाँले मेरो कामलाई धेरै सहज बनाइदिनुभयो । मप्रति उहाँको भरोसाले मलाई धेरै प्रेरणा मिलेको छ । म धेरै आभारी छु ।’
पूर्वराजपरिवार नारायणहिटीबाट बाहिरिए पनि नारायणहिटीभित्रैको महेन्द्र मञ्जिलमा बस्दै आएकी रत्न स्वर्गीय राजा महेन्द्रकी कान्छी पत्नी हुन् ।