निर्वाचन प्रणाली र शासन मेशिनरी बदल्न चुनावपछि सडकमा जान्छौं- प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रणालीलाई बदल्न आन्दोलन गर्ने घोषणा गरेका छन् ।
आइतबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको ‘समाजवादको नेपाली मार्गचित्र’ कार्यक्रममा बोल्दै प्रचण्डले निर्वाचन पद्धतिलाई बदल्न जरूरी रहेको भन्दै यसलाई परिवर्तन गर्न आफु सडकमा जाने बताएका हुन् ।
प्रचण्डले भने- ‘निर्वाचनपछि यो प्रणालीलाई बदल्न सडकमा जान्छु । सडकबाट मात्र समाजवादको जे परिकल्पना संबिधानमा गरेको हो, त्यसलाई प्राप्त गर्न र निर्वाचन प्रणाली र शासन मेशिनरी बदल्न सडकमा जानुको अर्को विकल्प छैन ।’
अहिलेको निर्वाचन प्रणालीलाई कायम राखेर सुशासनसहितको समाज सम्भव नभएको प्रचण्डले बताए । अहिलेको मेशिनरीले भ्रष्ट्रचारीलाई नै अगाडी ल्याउने भन्दै यसलाई परिवर्तन गर्नुपर्ने बताए ।
प्रचण्डले अहिले प्रधानमन्त्री हुन सांसद हुनैपर्ने र सांसद नै मन्त्री हुनुपर्ने प्रणाली रहेकाले भ्रष्ट्राचार संस्थागत भएको दाबि गरे । प्रचण्डले एक बर्षभित्र नै अहिलेको निर्वाचन प्रणालीलाई बदल्न आन्दोलन हुने समेत बताए ।