राष्ट्र बैंक । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको अधवार्षिक समीक्षाको पूर्णपाठ ।
आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षा
पृष्ठभूमि
१. नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नकोलागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने जिम्मेवारी अनुरुप आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति २०७९ साउन ६ गते र मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा प्रतिबेदन २०७९ मंसिर ११ गते सार्वजनिक गरिएको थियो ।
२. बाह्य क्षेत्र स्थायित्वमा देखिएको दबाब कम गर्न आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षादेखि अवलम्बन गरिएका नीतिगत व्यवस्थाहरुको कार्यान्वयनको फलस्वरुप बाह्य क्षेत्र परिसूचकहरुमा सुधार देखिन थालेको छ । २०७९ असोजदेखि शोधनान्तर स्थिति बचतमा रहन थालेको छ भने मुद्रास्फीति कम हुँदै गएको छ । शोधनान्तर बचत र आयातमा आएको कमीका कारण विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता बढेको छ ।
३. विप्रेषण आप्रवाहमा भएको सुधार तथा आयातमा आएको कमीका कारण चालु खाता घाटा उल्लेख्य रुपमा घट्न गई बाह्य क्षेत्रमा परेको दबाब कम भएको छ । २०७९ असोजदेखि शोधनान्तर बचतमा रहन थालेकोले तरलता स्थितिमा सुधार भएकोछ । फलस्वरुप, अल्पकालीन र निक्षेपको ब्याजदरहरु घट्न थालेका छन्।
४. अन्तर्राष्ट्रिय स्तरमा उच्च मुद्रास्फीति नियन्त्रण गर्न अवलम्बन गरिएको कसिलो मौद्रिक नीति र रुस–युक्रेनबीच जारी युद्धका कारण विश्व अर्थतन्त्र सुस्त भएकोछ । विश्व बजारमा पेट्रोलियम पदार्थ र खाद्य वस्तुको मूल्यमा परेको चाप केही शिथिल भए पनि अझै उच्च नैरहेको छ । उच्च मुद्रास्फीति नियन्त्रण गर्न अधिकांश केन्द्रीय बैंकहरुले अवलम्बन गरेको कसिलो मौद्रिक नीतिको कार्यदिशा यथावत रहने देखिएको छ । फलस्वरुप, विश्व अर्थतन्त्र उच्च मुद्रास्फीति र आर्थिक मन्दीकोदोहोरो दबाबमा परेको छ ।
५. उपर्युक्त पृष्ठभूमिमा चालु आर्थिक वर्षका पहिलो ६ महिनासम्ममा भएको मौद्रिक नीतिको कार्यान्वयन स्थिति, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय आर्थिक एवम्वित्तीय स्थिति र परिदृश्यका आधारमा चालु आर्थिक वर्षको मौद्रिक नीतिकोअद्र्धवार्षिक समीक्षा गरिएको छ ।
मौद्रिक नीतिको दोस्रो त्रयमाससम्मको कार्यान्वयन समीक्षा
आर्थिक तथा मौद्रिक लक्ष्यहरुको स्थिति
६. आर्थिक वर्ष २०७९/८० मा कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य रहेकोमा २०७९ पुस मसान्तमा ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको छ ।
७. आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.० प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा पहिलो ६ महिनामा औसत उपभोक्ता मुद्रास्फीति ८.०२ प्रतिशत रहेको छ ।
८. आर्थिक वर्ष २०७९/८० मा विस्तृत मुद्राप्रदायको वार्षिक वृद्धिदर १२ प्रतिशत हुने प्रक्षेपण रहेकोमा वार्षिक बिन्दुगत आधारमा २०७९ पुस मसान्तमा यस्तो वृद्धिदर ७.७ प्रतिशत रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा निजी क्षेत्रमाथिको दाबी १२.६ प्रतिशतले बढ्ने प्रक्षेपण रहेकोमा वार्षिक बिन्दुगत आधारमा २०७९ पुस मसान्तमा यस्तो वृद्धिदर ४.५ प्रतिशत रहेको छ ।
तरलता व्यवस्थापनको स्थिति
९. अघिल्लो आर्थिक वर्षकोपहिलो ६ महिनाकोतुलनामा चालु आर्थिक वर्षको ६ महिनामा वित्तीय प्रणालीको तरलता स्थितिमा सामान्य सुधार भएको छ । आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रयमाससम्ममा खुला बजार कारोबारमार्फत रु.४०१ अर्ब ९४ करोड तरलता प्रवाह गरिएको छ । यसैगरी, यस अवधिमा बैंक तथा वित्तीय संस्थालेस्थायी तरलता सुविधामार्फत पटक पटक गरी रु.२६९२ अर्ब ८३ करोड रकम यस बैंकबाट उपयोग गरेका छन्। गत वर्षको यसै अवधिमा खुला बजार कारोबारमार्फत रु.३५१ अर्ब ७ करोड खुद तरलता प्रवाह भएको थियो भने बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत पटक पटक गरी रु.३०१५ अर्ब ८९ करोड बराबरको रकम उपयोग गरेका थिए ।
१०. २०७९ पुस १ देखि ओभरनाइट तरलता सुविधा प्रयोगमा आएको छ । चालु आर्थिक वर्षको पुस महिनामा बैंक तथा वित्तीय संस्थाबाट रु.३५ अर्ब ४८ करोड बराबरको दैनिक तरलता सुविधा र रु.१२ अर्ब ८१ करोड बराबरको ओभरनाइट तरलता सुविधा उपयोग भएको छ ।
११. चालु आर्थिक वर्षको दोस्रो त्रयमाससम्ममा विप्रेषण आप्रवाहमा भएको सुधार तथा आयातमा आएको कमीका कारण विदेशी विनिमय बजारमा विदेशी मुद्राको खरिद गरी रु.३५८ अर्ब ९० करोड बराबरको तरलता प्रवाह भएको छ । गत वर्षको यसै अवधिमा विदेशी मुद्राको खरिदमार्फत रु.८० अर्ब २६ करोड खुद तरलता प्रवाह भएको थियो ।
ब्याजदरको स्थिति
१२. मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइएको बैंक तथा वित्तीय संस्थाबीचको औसत अन्तर–बैंक दर २०७८ पुसमा ४.७७ प्रतिशत रहेकोमा २०७९ पुसमा ७.५३ प्रतिशत कायम भएको छ । २०७९ असारमा यस्तो ब्याजदर ७.०१ प्रतिशत रहेको थियो ।
१३. २०७९ पुसमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर १०.८९ प्रतिशत कायम भएको छ । २०७८ पुसमा यस्तोब्याजदर ५.०७ प्रतिशत रहेको थियो ।
१४. वाणिज्य बैंकहरुको औसत आधार दर २०७९ पुसमा १०.९१ प्रतिशत पुगेको छ । २०७८ पुसमा यस्तो दर ८.४२ प्रतिशत रहेको थियो । २०७९ पुसमा निक्षेपको भारित औसत ब्याजदर ८.५१ प्रतिशत पुगेकोछ । २०७८ पुसमा यस्तोब्याजदर ६.३७ प्रतिशत रहेको थियो । त्यसैगरी, २०७९ पुसमा कर्जाको भारित औसत ब्याजदर १२.७९ प्रतिशत पुगेको छ । २०७८ पुसमा यस्तो ब्याजदर ९.४४ प्रतिशत रहेकोथियो।
१५. निक्षेप र कर्जाको भारित औसत वास्तविक ब्याजदर २०७८ पुसको तुलनामा २०७९ पुसमा बढेको छ । २०७९ पुसमा निक्षेपकोभारित औसत वास्तविक ब्याजदर १.२५ प्रतिशत र कर्जाको भारित औसत वास्तविक ब्याजदर ५.५३ प्रतिशत रहेको छ । २०७८ पुसमा निक्षेपको भारित औसत वास्तविक ब्याजदर ०.७२ प्रतिशत र कर्जाको भारित औसत वास्तविक ब्याजदर ३.७९ प्रतिशत रहेकोथियो ।
वित्तीय क्षेत्रसम्वन्धी व्यवस्थाको कार्यान्वयन स्थिति
क्षेत्रगत कर्जा
१६. वाणिज्य बैंकहरुले २०८० असार मसान्तसम्ममा कुल कर्जा लगानीको न्यूनतम ११ प्रतिशत कृषि क्षेत्रमा, ६ प्रतिशत उर्जा क्षेत्रमा र ११ प्रतिशत लघु, घरेलु, साना एवम्मझौला उद्यमको क्षेत्रमा (रु.१ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ पुस मसान्तमा कृषि क्षेत्रमा १३.० प्रतिशत (रु.५४३ अर्ब ४७ करोड), उर्जा क्षेत्रमा ६.३ प्रतिशत (रु.२६२ अर्ब ५५ करोड) र लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा ९.५ प्रतिशत (रु.३९६ अर्ब ९१ करोड) कर्जा लगानीमा रहेको छ ।
१७. विकास बैंकहरुले २०८० असार मसान्तसम्ममा कुल कर्जा लगानीको १६ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम÷व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ पुस मसान्तसम्ममा उक्त क्षेत्रहरुमा औसत २६.६ प्रतिशत (रु.११५ अर्ब ७५ करोड) कर्जा लगानीमा रहेको छ । त्यसैगरी, वित्त कम्पनीहरुले २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको ११ प्रतिशत कृषि, लघु, घरेलु तथा साना उद्यम÷व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ पुस मसान्तसम्ममा उक्त क्षेत्रहरुमा औसत २२.४ प्रतिशत (रु.१९ अर्ब ३३ करोड) कर्जा लगानीमा रहेको छ ।
विपन्न वर्ग कर्जा
१८. बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कुल कर्जा सापटको न्यूनतम ५ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुको ६.७ प्रतिशत (रु.२८० अर्ब १७ करोड), विकास बैंकहरुको ११.१ प्रतिशत (रु.४८ अर्ब २३ करोड) र वित्त कम्पनीहरुको ७.३ प्रतिशत (रु.६ अर्ब २९ करोड) कर्जा विपन्न वर्गमा लगानीमा रहेको छ ।
सहुलियतपूर्ण कर्जा र पुनरकर्जा
१९.नेपाल सरकारको ब्याज अनुदानमा सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत २०७९ पुस मसान्तसम्म कुल १ लाख ४८ हजार ३ सय ४२ ऋणीलाई रु.२१० अर्ब ४५ करोड कर्जा लगानीमा रहेको छ ।
२०. कृषि लगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई उपलब्ध गराइएको पुनरकर्जा सुविधा २०७९ पुस मसान्तसम्म रु.११ अर्ब ७५ करोड लगानीमा रहेको छ ।
२१. उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउने उद्देश्यले संचालनमा रहेका पुनरकर्जा सुविधा र सहुलियतपूर्ण कर्जाकोसदुपयोगिता र प्रभावकारिताका सम्बन्धमा अध्ययन भैरहेको छ ।
वित्तीय क्षेत्र सुधार र नियमन व्यवस्था
२२. वाणिज्य बैंकहरुले २०७९ चैतबाट औसत ब्याजदर अन्तर ४.२ प्रतिशत र २०८० असारबाट ४.० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएकोछ । त्यसैगरी, यस्तो ब्याजदर अन्तर विकास बैंक र वित्त कम्पनीहरुले २०७९ चैतबाट ४.८ प्रतिशत र २०८० असारबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।
२३. चालु पुँजी कर्जासम्वन्धी मार्गदर्शन सरोकारवालाहरुबाट प्राप्त सुझाब समेतका आधारमा आवश्यक संशोधन गरिएको छ ।
२४. कृषि क्षेत्रसँग सम्बन्धित पब्लिक लिमिटेड कम्पनीहरुले जारी गरेको ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीलाई कृषि क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइने व्यवस्था कार्यान्वयनमा आएको छ ।
२५. लघुवित्त वित्तीय संस्थाहरुले २०७९ माघदेखि आधार दर मासिक रुपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।
२६. यस बैंक वा अन्य निकायबाट खाता रोक्का÷फुकुवा भएका व्यक्तिहरुको अद्यावधिक सूची तयार गरी यस्तो सूचीलाई ग्राहक पहिचान पद्घतिको आधारको रुपमा लिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।
२७. बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीहरूले पालना गर्नुपर्ने आचरण सम्बन्धमा सदाचार नीति (Code of Conduct) तर्जुमा गरी लागू गर्न निर्देशन जारी गरिएको छ ।
२८. बैंक तथा वित्तीय संस्थाहरुले यस बैंकमा पेश गर्नुपर्ने विवरणहरु सुपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ्ग पोर्टल (Supervisory Information System) मा समेत अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।
भुक्तानी प्रणाली सम्वन्धी व्यवस्था
२९. भुक्तानीसम्वन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गरिएको छ ।
३०. सरकारी ऋणपत्रको धितोमा बैंक तथा वित्तीय संस्थालाई यस बैंकले उपलव्ध गराउने विद्यमान दैनिक तरलता सुविधालाई थप सहज बनाउन दैनिक तरलता सुविधासम्वन्धी कार्यविधि, २०७६ (प्रथम संशोधन, २०७९) जारी गरिएको छ ।
विदेशी विनिमय व्यवस्थापन
३१. शोधनान्तर स्थितिमा परेको दबाबलाई मध्यनजर गरी आयातको लागि प्रतीतपत्र खोल्दा ५० प्रतिशत देखि १०० प्रतिशतसम्म अनिवार्य नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएकोमा विदेशी विनिमय सञ्चितिमा आइरहेको सुधारलाई दृष्टिगत गरी उक्त व्यवस्थालाई खारेज गरिएको छ ।
३२. विदेशी लगानी बापतको विदेशी मुद्रा भित्र्याउने र विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋणको स्वीकृति तथा प्राप्ति गर्ने र विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानीको लागि विदेशी मुद्राको सटही प्रदान गर्नेलगायतका विषयहरूलाई थप व्यवस्थित तथा सहजीकरण गरी विदेशी लगानी आकर्षित गर्न विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा आवश्यक संशोधन गरिएको छ ।
३३. विप्रेषणसम्वन्धी कारोबारका लागि इजाजतपत्र प्रदान गर्ने सम्वन्धी व्यवस्था, कारोबार गर्न इजाजतपत्र पाएका संस्थाहरूको काम तथा कर्तव्यसम्वन्धी व्यवस्था, इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीहरू एक आपसमा गाभ्ने–गाभिने वा प्राप्ति गर्ने सम्वन्धी व्यवस्थालगायत विप्रेषण कारोबारसम्वन्धी कार्यलाई थप व्यवस्थित गर्न नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ जारी गरिएको छ ।
अन्तर्राष्ट्रिय आर्थिक स्थिति एवं परिदृश्य
३४. रुस–युक्रेन युद्ध तथा विकसित र उदीयमान मुलुकहरुले मुद्रास्फीति नियन्त्रणका लागि अवलम्बन गरेको कसिलो नीतिगत कार्यदिशाका कारण विश्वको आर्थिक वृद्धि सन्२०२२ को तुलनामा सन् २०२३ मा न्यून रहने अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपण रहेको छ । सन्२०२२ मा ३.४ प्रतिशतले विस्तार भएको विश्व अर्थतन्त्र सन् २०२३ मा २.९ प्रतिशत र सन् २०२४ मा ३.१ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ । त्यसैगरी, सन् २०२२ मा विकसित अर्थतन्त्र २.७ प्रतिशतले विस्तार भएकोमा सन् २०२३ मा १.२ प्रतिशत र सन् २०२४ मा १.४ प्रतिशतले विस्तार हुने प्रक्षेपण छ । सन् २०२२ मा ३.९ प्रतिशतले विस्तार भएको उदीयमान तथा विकासोन्मुख मुलुकहरुकोअर्थतन्त्र सन् २०२३ मा ४.० प्रतिशत र सन् २०२४ मा ४.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण रहेको छ ।
३५. छिमेकी मुलुकहरु भारत र चीनको अर्थतन्त्र सन् २०२२ मा क्रमशः ६.८ प्रतिशत र ३ प्रतिशतले विस्तार भएकोमा सन् २०२३ मा क्रमशः ६.१ प्रतिशत र ५.२ प्रतिशतले तथा सन् २०२४ मा क्रमशः ६.८ प्रतिशत र ४.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण रहेको छ ।
३६. सन् २०२२ मा ५.४ प्रतिशतले विस्तार भएको विश्व व्यापार आयतन सन् २०२३ मा २.४ प्रतिशतले खुम्चिने र सन् २०२४ मा भने ३.४ प्रतिशतले विस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ ।
३७. कोभिड–१९ महामारीपूर्वको तुलनामा मुद्रास्फीति अझै उच्च रहेको छ । विश्वको मुद्रास्फीति सन् २०२२ मा ८.८ प्रतिशत रहेकोमा सन् २०२३ मा केही सुधार भई ६.६ प्रतिशतमा झर्ने कोषले प्रक्षेपण गरेको छ । सन् २०२२ मा विकसित र विकासोन्मुख मुलुकहरुको मुद्रास्फीति क्रमशः ७.३ प्रतिशत र ९.९ प्रतिशत रहेकोमा सन् २०२३ मा क्रमशः ४.६ प्रतिशत र ८.१ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।
३८. मुद्रास्फीति नियन्त्रण गर्न विश्वका अधिकांश केन्द्रीय बैंकहरुले सन् २०२२ को शुरुदेखि नै अवलम्बन गरेको मौद्रिक नीतिको कसिलो कार्यदिशालाई अझै जारी राखेका छन् । अमेरिकी फेडरल रिजर्भले फेडरल फण्ड रेट सन् २०२२ मार्चदेखि ६ पटक वृद्धि गरी सन् २०२३ फेव्रुअरीमा ४.५–४.७५ प्रतिशत पु-याएको छ । फेडरल फण्ड रेट सन् २००७ पछि सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । साथै, बैंक अफ ईंग्ल्याण्डले सन्२०२२ मार्चमा ०.५ प्रतिशतमा रहेको बैंक दरलाई क्रमशः वृद्धि गरी सन्२०२३ फेव्रुअरीमा ४ प्रतिशत पु-याएको छ । त्यसैगरी, युरोपेली केन्द्रीय बैंकहरुले पनि ब्याजदरमा वृद्धि गरेका छन् । विकसित मुलुकहरुले लिएको लक्ष्य र वास्तविक मुद्रास्फीतिबीचको अन्तर उच्च रहेका कारण मौद्रिक नीतिको कसिलो कार्यदिशाले सन् २०२३ मा पनि निरन्तरता पाउने देखिएको छ ।
३९. उच्च मुद्रास्फीतिको अतिरिक्त विकसित मुलुकहरुले अवलम्बन गरेको कसिलो मौद्रिक नीतिका कारण उदीयमान मुलुकहरुले पनि मौद्रिक नीतिलाई थप कसिलो बनाएका छन्। भारतीय रिजर्भ बैंकले २०२२ अप्रिलमा ४ प्रतिशत रहेको नीतिगत दरलाई पटक पटक वृद्धि गरी २०२३ फेव्रुअरीमा ६.५० प्रतिशत पु¥याएको छ भने बैंक दरलाई ४.२५ प्रतिशतबाट वृद्धि गरी ६.७५ प्रतिशत पु¥याएको छ । यस अवधिमा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ करिब ७.५ प्रतिशतले अवमूल्यन भएको छ ।
राष्ट्रिय आर्थिक तथा वित्तीय स्थिति एवम्परिदृश्य
बाह्य क्षेत्र
४०. आर्थिक वर्ष २०७९/८० को ६ महिनामा वस्तु निर्यात ३२ प्रतिशत, वस्तु आयात २०.७ प्रतिशत र व्यापार घाटा १९.२ प्रतिशतले घटेका छन्। केही वस्तुहरुको आयातमा लगाइएको प्रतिबन्ध, प्रतीतपत्र खोल्दा नगद मार्जिन राख्नुपर्नेसम्वन्धी व्यवस्था, अमेरिकी डलरकोअधिमूल्यन र कर्जा प्रवाहमा संकुचन आएका कारण गत वर्षको तुलनामा चालु वर्ष आयात र व्यापार घाटा घटेका छन् । चालु वर्षको ६ महिनाको मासिक औसत आयात रु.१३२ अर्ब ११ करोड रहेको छ, जुन कोभिड–१९ पूर्वको तुलनामा अधिक हो।
४१. विप्रेषण आप्रवाह सुधारोन्मुख रहेको छ । आर्थिक वर्ष २०७९/८० को ६ महिनामा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भएको वृद्धि, डलर अधिमूल्यन र निक्षेपको ब्याजदरमा भएको वृद्धि लगायतका कारण विप्रेषण आप्रवाहमा सुधार भएको हो। विप्रेषण आप्रवाह आगामी महिनाहरुमा पनि सन्तोषजनक रहने देखिन्छ ।
४२. आर्थिक वर्ष २०७९/८० को ६ महिनामा नेपाल आउनेबाह्य पर्यटकको संख्यामा वृद्धि भई भ्रमण आय ११६.९ प्रतिशतले बढेको छ । कोभिड संक्रमण कम भएकोले पर्यटन क्षेत्र क्रमिक रुपमा सुधार हुँदै जाने देखिन्छ ।
४३. विप्रेषण आप्रवाहमा भएको वृद्धि र आयातमा आएको कमीका कारण चालु खाता घाटा तथा शोधनान्तर स्थितिमा सुधार भएकोछ । चालु आर्थिक वर्षको ६ महिनामा चालु खाता रु.२९ अर्ब ४७ करोडले घाटामा र शोधनान्तर स्थिति रु.९७ अर्ब ९ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको यसैअवधिमा चालु खाता रु.३५२ अर्ब १६ करोड र शोधनान्तर स्थिति रु.२४१ अर्ब २३ करोडले घाटामा रहेको थियो । शोधनान्तर स्थितिमा आएको सुधारका कारण विदेशी विनिमय सञ्चितिमा सुधार आएको छ । २०७९ असार मसान्तको तुलनामा कुल विदेशी विनिमय सञ्चिति १० प्रतिशतले वृद्धि भई २०७९ पुस मसान्तमा रु.१३३७ अर्ब २९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ८ प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड पुगेको छ ।
४४. समग्र माग तथा आयात व्यवस्थापनका लागि लिइएका नीतिगत व्यवस्थाका कारण बाह्य क्षेत्रमा परेको दबाब कम गर्न सहयोग पुगेको छ । गत वर्ष चालु खाता अत्यधिक घाटामा गएका कारण आयात व्यवस्थापनका लागि लिइएका नीतिगत व्यवस्थाहरु शोधनान्तर स्थितिमा सुधार आउन शुरु भएसँगै २०७९ पुसदेखि पूर्ण रुपमा हटाइएका छन् । विद्यमान उपभोग प्रवृत्ति, आयातमा आधारित उत्पादन संरचना र आन्तरिक उत्पादन क्षमतालाई दृष्टिगत गर्दा आगामी दिनमा बाह्य क्षेत्रलाई पुनः दबाबमा पर्न नदिने गरी आन्तरिक माग व्यवस्थापन गर्नु अपरिहार्य रहेको छ ।
वास्तविक क्षेत्र
४५. नेपालको उत्पादन क्षमता (Potential Output) लाई दृष्टिगत गर्दा आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रयमाससम्म आर्थिक गतिविधिहरु सन्तोषप्रद रहेका छन् । मौसमी अनुकूलताका साथै रासायनिक मलको उपलव्धताका कारण समग्रमा कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्न गएको छ । विद्युत उत्पादन वृद्धि हुँदै गएको छ । महामारीको असर कम भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ भने विप्रेषण आप्रवाह सन्तोषप्रद रहेको छ । विदेशी पर्यटककोआगमन संख्यामा सुधार भई पर्यटन क्षेत्रको पुनरुत्थानमा सहयोग पुगेकोछ ।
४६. समष्टिगत माग विस्तारमा कमी आएका कारण केही उद्योग व्यवसायहरु प्रभावित भएका छन्। तर, बाह्य क्षेत्रमा परेको चाप कम हुँदै गएकाले तरलताको स्थितिमा क्रमशः सुधार आएको छ । ब्याजदर घट्न शुरु भएको छ । यसले गर्दा आर्थिक गतिविधिहरु विस्तार गर्न सहयोग पुग्ने देखिन्छ ।
४७. संघ, प्रदेश तथा स्थानीय तीनै तहमा निर्वाचनपश्चात्नयाँ सरकारहरु गठन भएका छन्। पुँजीगत खर्च बढ्ने क्रममा रहेको छ । नेपाल सरकारको नीतिगत प्राथमिकताहरु सार्वजनिक भएका छन्। तीनै तहका सरकारको समन्वय र सक्रियताबाट अर्थतन्त्रका संरचनात्मक समस्या क्रमशः समाधान हुँदै उत्पादनशील अर्थतन्त्र निर्माण भई आर्थिक वृद्धि औसतभन्दा माथि हासिल हुन सहयोग पुग्ने अपेक्षा रहेको छ ।
४८. २०७९ पुस मसान्तमा वार्षिक विन्दुगत मुद्रास्फीति ७.२६ प्रतिशत रहेको छ । २०७८ पुस मसान्तमा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत रहेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ पुस मसान्तमा आयात मूल्य सूचकाङ्क ८.७ प्रतिशतले बढेको छ भनेतलब सूचकाङ्क १२.३९ प्रतिशत र ज्यालादर सूचकाङ्क ९.६४ प्रतिशतले वृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि र नेपाली रुपैयाँको अवमूल्यनका कारण आयातीत वस्तुहरुको मूल्य बढ्न गई उपभोक्ता मूल्यमा चाप पर्न गएको छ । बाह्य तथा आन्तरिक आर्थिक परिदृश्यलाई दृष्टिगत गर्दा मूल्यमा रहेको चापमा कमी आउन अझै केही समय लाग्नेदेखिन्छ ।
४९. २०७९ पुस महिनामा गरिएको मूल्य अपेक्षासम्वन्धी सर्वेक्षणमा सर्वसाधारणको मूल्य वृद्धिप्रतिको अपेक्षा क्रमशः घट्दै गएको देखिएको छ । यस तथ्यबाट यस बैंकले लिएको नीतिगत कार्यदिशाका कारण सर्वसाधारणको मूल्यप्रतिको अपेक्षामा अंकुश लाग्न सहयोग पुगेको संकेत गरेको छ ।
सरकारी वित्त
५०. नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तमा संघीय सरकारको कुल खर्च १३.७५ प्रतिशतले वृद्धि भई रु.५७६ अर्ब ३५ करोड पुगेको छ । यस अवधिमा भएको कुल खर्चमा चालु खर्चको अंश ८०.२१ प्रतिशत रहेको छ । तलब तथा सामाजिक सुरक्षा खर्चमा वृद्धि र आम निर्वाचन लगायतका कारण सरकारी खर्च वृद्धि भएको छ ।
५१. राजस्व परिचालन २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तमा १५.३२ प्रतिशतले घटेको छ । २०७८ पुससम्ममा रु.५४२ अर्ब ५ करोड राजस्व परिचालन भएकोमा २०७९ पुससम्ममा रु.४५८ अर्ब ९९ करोड राजस्व परिचालन भएको छ । कुल खर्चमा वृद्धि हुनु तर राजश्व परिचालन घटेका कारण २०७९ पुस मसान्तमा नेपाल सरकारको वित्त घाटा रु.११७ अर्ब ३६ करोड रहन गएको छ । अघिल्लो वर्षको यसै अवधिमा सरकारी वित्त रु.३५ अर्ब ३६ करोडले बचतमा रहेको थियो ।
५२. पछिल्लो ५ वर्षमा सार्वजनिक ऋण औसतमा २३.९ प्रतिशतले वृद्धि भई कुल गार्हस्थ्य उत्पादनको ४१.५ प्रतिशत पुगेको छ । यस अवधिमा आन्तरिक ऋण औसतमा २७.३ प्रतिशतले बढेको छ । सार्वजनिक ऋणको आकार तीव्र दरले बढ्दै जाँदा खासगरी आन्तरिक ऋण परिचालनको लागत बढ्नुको साथै यसबाट ब्याजदर, शोधनान्तर स्थिति र मुद्रास्फीतिमा दीर्घकालीन प्रभाव पर्न सक्नेतर्फ सजग रहनु पर्ने देखिन्छ ।
५३. चालु खर्च कटौती र राजस्व चुहावट नियन्त्रणको लागि गरिएका पछिल्ला प्रयासहरुले चालु आर्थिक वर्ष देखा परिरहेको नेपाल सरकारको आय र व्ययबीचको बढ्दो अन्तरमा केही कमी ल्याउन सक्ने देखिन्छ । चालु खर्च नियन्त्रण, पुँजीगत खर्च वृद्धि र राजस्व एवम्वैदेशिक सहयोग परिचालन गरी सरकारी वित्त व्यवस्थापनमा सन्तुलन कायम गर्न थप जोड दिनुपर्ने आवश्यकता रहेको छ ।
मौद्रिक तथा वित्तीय क्षेत्र
५४. वार्षिक बिन्दुगत आधारमा २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेप ९.४ प्रतिशतले वृद्धि भई रु.५२९७ अर्ब ९० करोड पुगेको छ भने निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा ४.० प्रतिशतले वृद्धि भई रु.४७५८ अर्ब ४२ करोड पुगेको छ । २०७८ असारदेखि निक्षेपको तुलनामा कर्जाको वार्षिक बिन्दुगत वृद्धिदर उच्च रहेकोमा २०७९ असोजबाट निक्षेपको वृद्धिदर अधिक रहँदैआएको छ ।
५५. निक्षेपको तुलनामा कर्जाको वृद्धिदर न्यून रहेका कारण बाह्य क्षेत्रमा परेको चाप कम गर्न सहयोग पुगेको छ । २०७८ जेठदेखि लगातार दबाबमा रहेको शोधनान्तर स्थिति २०७९ असोजबाट बचतमा रहन थालेको छ । शोधनान्तर स्थितिमा सुधार आउन शुरु भएसँगै मौद्रिक तरलतामा विस्तार भएको छ । तरलतामा सुधार आएका कारण अल्पकालीन ब्याजदरहरु घट्न थालेका छन्। यसको असर निक्षेप तथा कर्जाको ब्याजदरमा समेत क्रमशः प्रतिविम्बित हुँदै जाने देखिएको छ ।
५६. कर्जाकोआकार कुल गार्हस्थ्य उत्पादनकै हाराहारीमा पुगिसकेको र बैंक तथा वित्तीय संस्थाको पुँजीको आधारसमेतलाई दृष्टिगत गर्दा कर्जा प्रवाह सन्तुलित रहन गई तरलता र ब्याजदरमा थप सुधार आउने अनुमान छ । तथापि, आयातमा आधारित अर्थतन्त्र भएकाले सरकारी वित्त घाटा र कर्जा विस्तारसँगै आन्तरिक माग विस्तार हुँदा शोधनान्तर स्थिति पुनः दबाबमा पर्नसक्ने जोखिम रहेको छ । यसर्थ, तरलता र ब्याजदरमा देखिन लागेकोसुधारलाई दिगो राख्ने कार्य भनेचुनौतीपूर्ण रहेको छ ।
५७. विश्व अर्थतन्त्रलगायत छिमेकी देशहरुको आर्थिक स्थिति, परिदृश्य र अन्तर्राष्ट्रिय स्तरमा अवलम्बन गरिएको मौद्रिक नीतिको कार्यदिशाले नेपालको समष्टिगत आर्थिक व्यवस्थापनमा प्रभाव पार्ने भएको हुँदा सो समेतलाई मध्यनजर गरी यो समीक्षा गरिएको छ ।
मौद्रिक नीतिको कार्यदिशा र उपायहरु
५८. सजगतापूर्वक कसिलो नीतिगत कार्यदिशा लिइएका कारण शोधनान्तर स्थितिमा क्रमशः सुधार आउन गई २०७९ असोजदेखि बचतमा रहन थालेको छ । उपभोक्ता मूल्य वृद्धिदरमा पनि केही कमी आउन थालेको छ । तथापि, केही वस्तुहरुको आयातमा लगाइएको प्रतिबन्ध र प्रतीतपत्र खोल्दा राख्नुपर्ने नगद मार्जिनसम्वन्धी व्यवस्था पूर्ण रुपले हटाइएको सन्दर्भमा आयात पुनः बढ्न गई बाह्य क्षेत्रमा दबाब पर्न सक्ने सम्भावना रहनुको साथै औसत मुद्रास्फीति अझै पनि लक्ष्यभन्दा माथि रहेकोले चालु वर्षको मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई यथावत राखिएकोछ ।
५९. ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको छ । अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र स्थायी तरलता सुविधासम्वन्धी व्यवस्थालाई यथावत राखिएको छ ।
६०. बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाइनेछ ।
६१. आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा लिइएका लक्ष्य तथा प्रक्षेपणहरुलाई यथावत राखिएको छ । ब्याजदर करिडोर प्रभावकारी हुनेर भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने गरी तरलता व्यवस्थापन गरिनेछ ।
नियामकीय उपायहरु
६२. २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा÷ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिनेछ ।
६३. साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको रु.२ करोडसम्मको कर्जालाई उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था मिलाइनेछ ।
६४. बैंक तथा वित्तीय संस्थाको कर्जाको गुणस्तरलाई थप सुदृढ बनाउन कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्थाअन्तर्गत निष्कृय वर्गमा वर्गीकृत भएको कर्जा नियमित हुनासाथ असल एवम् सूक्ष्म निगरानी वर्गमा वर्गीकृत गर्ने लगायतका व्यवस्थामा अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा पुनरावलोकन गरिनेछ ।
६५. बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने कर्जा र निक्षेपबीचको औसत ब्याजदर अन्तर तथा ऋणीबाट लिने प्रिमियमसम्वन्धी व्यवस्थाकोअनुगमनलाई थप प्रभावकारी बनाइने छ ।
६६. मौद्रिक नीतिमा लिइएका उपायहरुको कार्यान्वयन स्थिति तथा विद्यमान राष्ट्रिय एवम्अन्तर्राष्ट्रिय आर्थिक स्थिति र परिदृश्यलाई दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशालाई यथावत राखिएको छ । यसको कार्यान्वयनबाट आन्तरिक तथा बाह्य क्षेत्र स्थायित्व सुदृढ भई आर्थिक गतिविधि सहज हुन सहयोग पुग्ने अपेक्षा रहेको छ ।
६७. आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको योअद्र्धवार्षिक समीक्षाको क्रममा सहयोग पु¥याउने नेपाल सरकारका निकायहरु, उद्योग व्यवसायसँग सम्बन्धित संघ÷संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरु, विद्वत वर्ग, सञ्चार माध्यमलगायत सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै मौद्रिक नीति र यस समीक्षामा व्यवस्था गरिएका नीति तथा कार्यक्रमहरुको कार्यान्वयनमा सदाभैmँ सबैको सहयोग रहने यस बैंकको विश्वास रहेको छ ।