

डडेल्धुरा । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी अभियानमा सहभागी हुन डडेल्धुरा पुगेका छन् ।

डडेल्धुराको अमरगढीमा आयोजित सभालाई सम्बोधन गर्न देउवा आज त्यहाँ पुगेका हुन् । देउवाले सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुन स्थानीयबासी पनि उल्लेख्य उपस्थित भएका छन् ।

अमरगढीको कार्यक्रममा सहभागी हुनेक्रममा प्रधानमन्त्री देउवा हिजै धनगढी पुगेका थिए । उनी कार्तिक २० गतेसम्म डडेल्धुराका विभिन्न ठाउँमा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीसमेत रहेका देउवाको चुनावी भाषण सुन्न नेपाली कांग्रेससहित अन्य दलका कार्यकर्ता र सर्वसाधारण पनि सभास्थलमा जम्मा भएका छन्।

देउवाले सभाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै डडेल्धुरावासीलाई धन्यवाद दिएका छन् । उनले मतदाता फकाउँदै न्यानो स्वागत र मायाका लागि आभार व्यक्त गरेका छन् । देउवालाई स्वागतका लागि सयौँ कांग्रेस कार्यकर्ता सभास्थलमा जम्मा भएका थिए । उनीसँग भिड्न पुगेका सागर ढकाल पनि स्वागतका लागि लामवद्ध देखिन्थे ।