काठमाडौं । ग्लोबल आइएमई बैंकको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु मर्जरसम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु मर्जर सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको हो । त्यस्तै आइएमई बैंक र बैंक अफ काठमाण्डु मर्जर सम्बन्धमा मूल्यांकन तर्फबाट प्राप्त चल/अचल सम्पति दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १:१ स्वीकृत गरेको छ ।
यी दुबै बैंकबीच मर्जरसम्बन्धी सबै प्रकृया पूरा भइसकेको छ । साथै साधारणसभाले बैंकको अधिकृत पुँजी २५ अर्ब रूपैयाँलाइ वृद्धि गरी ५० अर्ब रूपैयाँ पु-याउने प्रस्ताव पारित गरेको छ ।
मर्जर पश्चात् बैंकको कूल पुँजी ५२.२९ अर्ब, चुक्ता पूँजी ३४.४१ अर्ब, कूल निक्षेप ३८४ अर्ब, कूल कर्जा ३८० अर्ब सहित कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ ।
दुई बैंकहरुको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ३७ लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठूलो बैंक हुनेछ ।