जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा ल्याबसहितको भिडियो एक्स–रे सञ्चालनमा ल्याएको छ । आज स्वास्थ्य प्रयोगशालको उद्घाटन गर्दे पालिका अध्यक्ष पूर्णप्रसाद धितालले भन्नुभयो, “सो स्वास्थ्य चौकीमा सुविधा सम्पन्न ल्याब प्रयोगशाला स्थापना गरी सञ्चालनमा आएको छ ।”
अध्यक्षका अनुसार प्रयोगशालामा चाहिने जनशक्तिको खुल्ला प्रतिस्पर्धाबाट व्यवस्थापन भइसकेको छ । अब भिडियो एक्स–रेका लागि अब जनताले बाहिर गएर खर्च गर्नु पर्दैन । पालिका हरेक वडामै गएर ज्येष्ठ नागरिक, घरदैलो निःशुल्क स्वास्थ्य उपचार गर्ने स्थानीय सरकार लागिपरेको अध्यक्ष धितालले जानकारी दिए ।
स्वास्थ्य चौकीमा ल्याबसहितको भिडियो एक्स–रे प्रयोगशाला सञ्चालनमा आएपछि यहाँका स्थानीयवासीलाई निकै राहत पुग्ने नराकोट स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य चौकीमा स्रोत साधनको अभावले स्वास्थ्यकर्मीलाई काम गर्न कठिन भएको जनगुनासो आएपछि उक्त प्रयोगशाला स्थापना गरिएको सिञ्जा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
सिञ्जाका नागरिकको अपेक्षाअनुुसार वडामै गएर योजना सम्झौतादेखि गाउँ केन्द्रित स्वास्थ्य सेवा दिन थालेको पालिकाका प्रवक्ता तथा वडा नं २ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिए । यसअघि पालिकाले वडा नंं २ मा प्रसूति गूह र वडा नं ६ मा आधारभूत स्वास्थ्य चौकीसमेत स्थापना गरिसकेको सिञ्जा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।