काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाका दुई युवकको भारतमा हत्या भएको छ। भारतमा अपहरणमा परेका उनीहरूको अपहरणपछि हत्या भएको हो।
हत्या हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का २२ वर्षीय विष्णु साह र वडा नम्बर ८ का २५ वर्षीय रोहित साह रहेका छन् । आइतबार भारत बिहार राज्यको पर्सा गाउँको पश्चिमतर्फको फिल्डमा दुवै युवकको शव भेटिएको हो ।
उनीहरु गत पुस २७ मा भारतको सीतामढी जिल्लाको परिहार गाँउमा रहेको रोहितको आफन्तको घरमा जान हिंडेका थिए। उनीहरु बेपत्ता भएपछि दुवै जनाको परिवारलाई अपहरणकारीले गत सोमबारसम्म ५० लाख रुपैयाँ फिरौती माग गरेका थियो ।
घटनापश्चात प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २ जना र भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । उनीहरुको नाम अहिले गोप्य राखिएको छ । चारजना फरार रहेकाले खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।
The post जनकपुरका २ युवकको अपहरणपछि भारतमा हत्या appeared first on NepalWatch.