• Trending:

सरकारबारे निर्णय लिन रास्वपा बैठक बस्दै

सरकारबारे निर्णय लिन रास्वपा बैठक बस्दै

Economist Nepal

Sun, Magh 22 2079

सरकारबारे निर्णय लिन रास्वपा बैठक बस्दै

काठमाडौं । सरकारमा रहेको सहभागितालाई निरन्तरता दिने कि फिर्ता लिने भन्ने विषयमा निर्णय लिन रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक अहिले बिहान ११ बजे बस्ने भएको छ ।

नागरिकता विवादमा रवि लामिछानेले गृह मन्त्रालय गुमाएपछि सो मन्त्रालय आफूले नै पाउनुपर्ने रास्वपाको मागमा प्रधानमन्त्री मन्जुर नभएपछि रास्वपाले प्रधानमन्त्रीलाई यसबारे पुनर्विचार गर्न दुईदिने अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटमको म्याद सकिएलगत्तै शनिबार बसेको बैठक बिना निर्णय टुंगिएपछि आज पुनः बस्न लागेको हो ।

रास्वपाका एक नेताले सरकारमा रहने या नरहने भन्नेबारे आजको बैठकले ठोस निर्णय लिने बताए ।

रास्वपामा गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिनुपर्ने तथा यसकै कारण सरकार छाडिहाल्न नहुने दुई थरी मत छ । रवि लामिछानेको तर्क सत्तासाझेदार दलबीचको पूर्वसहमति कार्यान्वयन नभएकाले बाहिरिनु पर्ने रहेको छ भने यही कारण सरकार छाड्दा पदलोलुपको आरोप लाग्ने भएकाले संयमित हुनुपर्ने अर्को पक्षको भनाइ छ ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह छाडेर भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेको विषय प्रकाशमा आएको छ । यसले रास्वपालाई सरकारबाट बाहिरिने अनुमान गरिए पनि रास्वपाको आधिकारिक धारणा आउन बाँकी छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.