काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छोड्ने भनिएपनि उनी जाने नयाँ क्लबबारे अहिलेसम्म अन्योलनै रहेको छ ।
रिपोर्टका अनुसार रोनाल्डोलाई भित्र्याउन इच्छुक रहेको एटलेटिको म्याड्रिड पनि रोनाल्डोलाई भित्र्याउने दौडबाट पछि हटेको छ । एटलेटिकोका अध्यक्ष एनरिक केरेजोले रोनाल्डोलाई भित्र्याउन प्राविधिक रुपमा समस्या रहेको बताएको स्पेनिस मिडियाहरुले उल्लेख गरेका छन् । यस अघि एटलेटिकोले लोनमा भएपनि रोनाल्डोलाई भित्र्याउने बताइएको थियो ।
तर अध्यक्षको पछिल्लो अभिव्यक्तिपछि रोनाल्डो अब कुन क्लबमा जान्छन भन्ने बारे थप अन्योल भएको छ ।
एटलेटिकोले रोनाल्डोलाई भित्र्याउने तयारी गरेको समाचार प्रकाशित भएपछि क्लबका फ्यानहरुले रोनाल्डोको विरोध गर्दै क्लबमा नल्याउन सामाजिक सञ्जालमा अभियान नै चलाएका थिए ।
सोमबार सर एलेक्स फर्गुसन र युनाइटेडका सिइओसँग भएको छलफलपछि रोनाल्डो युनाइटेडसँग एक बर्ष सम्झौता नवीकरण गरेर यस सिजन लोनमा अन्य क्लबमा जान तयार भएको बताइएको छ ।
तर पिएसजी, बायर्न म्युनिख, चेल्सी जस्ता क्लब रोनाल्डोलाई भित्र्याउन पछि हटेपछि रोनाल्डोको ट्रान्सफर कठिन हुदै गएको फुटबल विश्लेषकहरुले बताएका छन् । अब रोनाल्डोसँग विकल्प नै कम भएकोले उनी कुन क्लबमा जान्छन भन्ने अस्पष्ट रहेको देखिएको बताइएको छ ।