
जनकपुरधाम । महिलाको रकम लुटेर फरार रहेका दुई युवालाई धनुषा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ निवासी २० वर्षीय जितेन्द्रप्रसाद साह र २१ वर्षीय दीपेन्द्र मण्डल रहेको प्रहरीले जनाएको छ ।
सबैला नगरपालिका–४ घर भई जनकपुरधाम उपमहानगरपालिका–१ निवासी शर्मिलादेवीले गत सोमबार बिदेशबाट श्रीमान्ले पठाएको दुई लाख जनकपुरधामको मिल्स एरियास्थित एभरेष्ट बैंकबाट झिकेर प्लाष्टिकको झोलामा रकम र मोबाइल बोकी आउँदै गर्दा लुटेर उनीहरु फरार भएका थिए ।
घटनाको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा लुटिएको रकमसहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।
पक्राउ परेका जितेन्द्रको साथबाट लुटिएको मोबाइल र ५४ हजार तथा दीपेन्द्रको साथबाट ७८ हजार बरामद भएको उनले बताए ।