काठमाडौँ । युभेन्टसका फ्रेन्च मिडफिल्डर पाउल पोग्वाले कतार विश्वकप गुमाउन सक्ने भएका छन् ।
इन्जुरीका कारण युभेन्टसको प्रि-सिजन गुमाएका पोग्वाले अप्रेशन गर्नुपर्ने भएपछि उनी २०२२ भरि खेल्न नसक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
२९ बर्षिय पोग्वाले हालै म्यानचेस्टर युनाइटेड छोडेर उनको पुर्व इटालियन क्लब युभेन्टस गएका थिए ।
पोग्वाको दाहिने घुडामा चोट लागेको बताइएको छ । ला गाजेटा डेलो स्पोर्ट्सले पोग्वा २०२२ मा खेल्न नसक्ने रिपोर्ट प्रकाशित गरेको छ । तर युभेन्टसले भने पोग्वाको चोटको पुरा जाँचपछि मात्र कति समयमा ठिक हुन्छ भन्ने बताउने सकिने जानकारी दिएको छ ।
पोग्वाको इन्जुरीले युभेन्टसलाई समेत संकटमा पारेको छ । उनी लामो समयसम्म खेल्न नसक्ने भएपछि उनको विकल्पमा कसलाई खेलाउने भन्ने बारे सोच्नु पर्ने भएको छ । साथै नोभेम्बर-डिसेम्बरमा हुने विश्वकप सम्म पोग्वा ठिक नभएमा फ्रान्सका लागि पनि २०१८ को विश्वकप विजेता टिमका महत्वपूर्ण सदस्य पोग्वाको अनुपस्थितिले अप्ठ्यारो पर्न सक्ने देखिएको छ ।