काठमाडौँ । पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजले भारतलाई पाँच विकेटले पराजित गरेको छ । योसँगै सिरिज पनि १–१ को बराबरीमा पुगेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोली १९.४ ओभरमा १३८ रनमा सिमित भएको थियो । भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ३१ रन बनाए ।
योसँगै वेस्ट इन्डिजका लागि ओबेद म्याकोयले ६ विकेट लिए । जवाफमा वेस्ट इन्डिजले १९.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । विन्डिजका लागि ब्रान्डन किङले सर्वाधिक ६८ रन बनाए । योसँगै डेभोन थोमसले ३१ रनको अविजित इनिङ्स खेले । टी–२० सिरिजको अर्को खेल यही मैदानमा मंगलबार हुनेछ ।
भारत विरुद्धको टी-२० अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङको कीर्तिमान म्याकोयले बनाएका छन् । उनले १७ रन दिएर कुल ६ विकेट लिए । यसअघि यो कीर्तिमान श्रीलंकाका वानिन्दु हसरंगाको नाममा थियो । हसरंगाले २०२१ मा भारतविरुद्धको टी–२० मा ९ रनमा चार विकेट लिएका थिए ।