केनको गोलमा वोल्भ्समाथि टोटनह्यामको जित
काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले वोल्भ्सलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा टोटनह्यामले वोल्भ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
टोटनह्यामको यो जितमा ह्यारी केनले निर्णायक गोल गरेका थिए । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको ६४औँ मिनेटमा इभान पेरिसिकको असिस्टमा गोल गर्दै टोटनह्यामलाई जिताएका थिए ।
जारी यस सिजनमा टोटनह्यामको तेस्रो खेलमा यो दोस्रो जित हो । यस अघि सिजनको पहिलो खेलमा टोटनह्यामले साउथहम्पटनलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा चेल्सीसँग २-२ गोलको बराबरी खेलेको थियो ।
यो जितपछि टोटनह्यामको ३ खेलमा ७ अंक भएको छ । त्यस्तै वोल्भ्सले भने अहिलेसम्म खेलेका ३ खेलमा दोस्रो हार बेहोरेको छ । वोल्भ्सको ३ खेलमा एक अंक रहेको छ ।