पुटिनका निकट सहयोगीकी छोरीको हत्यामा युक्रेनको हात रहेको रुसको आरोप
काठमाडौँ । रुसले राष्ट्रपति भ्लादिमिर पुटिनकी निकट सहयोगीकी छोरी डरया डुगिनाको हत्यामा युक्रेनको सुरक्षा निकायलाई दोष दिएको छ ।
रसियाको सुरक्षा सेवा (एफएसबी) ले शनिबार राति भएको आक्रमणको पछाडि जुलाईमा रसिया पुगेका एक युक्रेनी नागरिकको हात रहेको बताएको छ ।
अब रुसी अधिकारीहरूले उक्त युक्रेनी नागरिक कार बम विष्फोटपछि इस्टोनिया भागेको दाबी गरेका छन् ।
यद्यपी युक्रेनले यी आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । पूर्व रुसी सांसद इल्या पोनोमारेभले पुटिनको शासनको विरोध गर्ने आन्तरिक समूहले आक्रमणको पछाडि रहेको बताएका छन् ।
डुगिना रुसी दार्शनिक अलेक्जेन्डरकी छोरी थिइन्, जसलाई राष्ट्रपति भ्लादिमिर पुटिनको ‘ब्रेन’ भनेर चिनिन्छ । रुसी अनुसन्धान समितिका अनुसार डुगिना आफ्नो कारमा घर जाँदै गर्दा उनको कारमा विस्फोट हुँदा उनको मृत्यु भएको थियो ।
रुसी अधिकारीहरूले उनका बुबा अलेक्जेन्डर डुगिन मस्को नजिकै शनिबार राति भएको आक्रमणको मुख्य निशाना भएको बताएका छन् ।