टी-२० वरियतामा नेपाल फेरी एक स्थान तल
काठमाडौं । नेपाली क्रिकेट टिमको टी २० वरीयता थप तल झरेको छ । आइसिसीले बुधबार जारी गरेको वरीयतामा नेपाल एक स्थान खस्किएको हो । यसअघि १५औं स्थानमा रहेको नेपाल हाल १६औं स्थानमा पुगेको छ ।
नेपालले मंगलबारमात्र केन्याविरुद्धको ५ खेलको सिरिज ३-२ ले जितेपनि वरियतामा सुधार हुन सकेन । यसअघि गत सोमबार मात्र आइसिसीले जारी गरेको वरियतामा नेपाल १४ बाट १५औँ स्थानमा झरेको थियो ।
यसले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकपमा सोझै छनोट हुने सम्भावना पनि कमजोर बनेको छ । यसमा १२ टिम सोझै प्रतियोगिता छनोट हुनेछन् ।
टी-२० वरियतामा स्कटल्याण्डले नेपाललाई उछिन्दै १५औं स्थानमा उक्लिएको छ ।
त्यस्तै भारत आइसीसी वरियताको शिर्ष स्थानमा कायम छ भने इङल्याण्ड दोस्रो स्थानमा रहेको छ । त्यस्तै पाकिस्तान तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा रहेको छ । त्यसैगरी न्यूजील्याण्ड र अस्ट्रेलिया पाँचौं र छैटौं स्थानमा छन् भने वेस्टइन्डिज र श्रीलंका सातौं र आठौ स्थानमा रहेका छन् । त्यस्तै बंगलादेश नवौं, अफ्गानिसत्न दशौँ, जिम्बाबे ११औँ र आयरल्याण्ड १२औँ स्थानमा रहेको छ ।