
काठमाडौं । घरेलु टोली भारतसँगको तेस्रो तथा अन्तिम टी–२० खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । गए राति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ४९ रनले हराएको हो । दक्षिण अफ्रीकाले दिएको २२८ रनको लक्ष्य पछ्याएको भारतले १८ ओभर ३ बलमा अलआउट हुँदै १७८ रन मात्रै बनायो ।
भारतका दिनेश कार्तिकले ४६ रन जोडे । दीपक चाहरले ३१ तथा ऋषव पन्थले २७ रन बनाए । दक्षिण अफ्रिकाका ड्वाने प्रिटोरिउसले ३ तथा वायन प्रनिल, लुंगी एनजिडी र केशव महाराजले २-२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका रिली रस्सोले अविजित सय रनको शतकीय पारी खेले । क्विन्टन डी ककले ६८ रनको अर्धशतकीय पारी खेले ।
भारतका दीपक चाहर र उमेश यादवले १-१ विकेट लिए । भारतले ३ खेलको श्रृंखला २–१ ले जितेको छ । भारत पहिलो खेलमा ८ विकेटले र दोस्रो खेलमा १६ रनले विजयी भएको थियो । भारत र दक्षिण अफ्रिकाबीच अब तीन एक दिवसीय खेल हुनेछ ।






