
काठमाडौं । प्रत्यक्षतर्फका उम्मेदवारी दर्ताको समय दुई दिन मात्र बाँकी रहेका बेला दलहरु भागबण्डालाई अन्तिम रुप दिन जुटेका छन् । सिट बाँडफाँटमा सहमति नजुट्दा सत्ता गठबन्धन टुक्रिने खतरा बढेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने साना दलहरूलाई एकीकृत गर्न जुटेको छ ।
गठबन्धनको भागबण्डामा असन्तुष्टि जनाउँदै आएको जनता समाजवादी पार्टी एमालेसँग सहकार्यको तयारीमा जुटेपछि सत्ता गठबन्धन फुट नजिक पुगेको हो । जसपा एमालेसँग सहकार्य गर्ने तयारीमा जुट्दै गर्दा सोही पार्टीका पूर्व अध्यक्ष डा. बाबुराम भट्टराईले भने कटाक्ष गरेका छन् ।
नेपाल समाजवादी पार्टीको अध्यक्ष रहेका डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद छ । एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त, आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो ! यो अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं !’






