
काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि प्रतिशोध साँधेकै कारण टिकट नपाएको बताएका छन् । प्रतिनिधि सभा सदस्यमा टिकट नपाएपछि रिजालले आफूले पार्टीभित्र नेतृत्वको आलोचना गर्दा प्रतिशोधको साँधिएको बताएका छन् ।
आफूले एक महिनादेखि नै टिकट नपाउनेमा ढुक्क रहेको उनले बताए । रिजालले भने, ‘मैले टिकट नपाउने भनेर मानसिक रुपमा तयारीमै थिएँ । यो अप्रत्याशित होइन । देउवाजीले ममाथि यसरी प्रतिशोधको भावना साँध्नुहुन्थ्यो जस्तो लागेको थिएन ।’
रिजालले स्वतन्त्र उम्मेदवारी नदिने बरु पार्टीलाई सुदृढ बनाउन कटिबद्ध भएर लाग्ने बताएका छन् । उनले लड्दै आएको चुनावी क्षेत्र मोरङ–२ मा कांग्रेसले सुजाता कोइरालाले टिकट दिएको छ ।
संसदमा कांग्रेसको उपस्थिति कमजोर रहँदा रिजाल कडा रुपमा प्रतिपक्षको भूमिका खेल्ने गरेका थिए । कोइराला प्यानलबाट कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा पराजय भएका थिए । पराजय लगत्तै रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिएका थिए ।






