
मोरङ । सिरहा गोल बजारका एक १८ वर्षीय युवकलाई अपहरण गरी विराटनगर बसपार्क नजिकैको अप्सरा गेष्ट हाउसमा ल्याएर हत्या गरिएको छ । अपहरण गरिएका युवकसँग फिरौतीको विवाद भएपछि हत्या गरेको खुलेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार गोलबजारका १८ वर्षीय अंशु सदालाई असोज २३ गते अपहरण गरी विराटनगरको न्यू अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा राखेर एक लाख फिरौती नदिँदा शुक्रबार बिहान हत्या गरेको अवस्थामा शव फेला परेको हो ।
सामान्य किसान परिवारका सदालाई मुखमा इँट्टाले प्रहार गरेर हत्या गरी शव बक्स पलङमा हालेको आवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले धनुषाका विष्णु मण्डल, राजेश ठाकुर र विराटनरका मनोज कार्कीलाई नियन्त्रणमा लिएको कोइरालाले जानकारी दिए । उनीहरूलाई विराटनगरको माछापुछ्रे बैंकमा फिरौती रकम लिन जाने क्रममा प्रहरीले पक्राउ गरेको कोइरालाको भनाइ छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।






