
काठमाडौं । नेपाल पुलिस क्लबका किरण लिम्बु बिहीबार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुवाथलनको पुरुष स्पर्धामा स्वर्णपदक जित्न सफल भएका छन् । महिलातर्फ भने त्रिभुवन आर्मीकी इन्द्रकला नेम्वाङले स्वर्ण जितिन् ।
पाँच किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र २.५ किलोमिटर दौडको दूरी पुलिसका किरणले १ घण्टा २२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । आर्मीका मनबहादुर थापामगरले निर्धारित दूरी १ घण्टा १ मिनेट ४१ सेकेन्डमा पार गर्दै रजत र आर्मीकै प्रेमसिंह मन्यालले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३४ सेकेन्डमा पार गर्दै कास्यपदक जिते ।
महिलातर्फ निर्धारित दूरी १ घण्टा ११ मिनेट ४४ सेकेन्डमा पार गर्दै आर्मीकी इन्द्रकलाले स्वर्ण जितिन् । सशस्त्र प्रहरी बल (एपीएफ) क्लबकी अनिता राइले निर्धारित दूरी १ घण्टा १३ मिनेट ३९ सेकेन्डमा पार गर्दै रजतपदक हात पारिन् । आर्मीकी हेमा चौधरीले निर्धारित दूरी १ घण्टा २८ मिनेट ४३ सेकेन्डमा पार गर्दै कास्यपदक जित्न सफल भइन् । दुवाथलनमा आर्मी टिम च्याम्पियन बन्न सफल भयो ।






