
काठमाडौं । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज (शनिबार) मनाइँदै छ । धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको छ ।
यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । र धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यस्तो छ धनतेरस पूजाको विधि
धनतेरसको पूजाका लागि प्रदोष काल सबैभन्दा उत्तम समय हो । यसै समयमा पनि सामानहरु खरिद गर्न सकिन्छ । प्रदोष कालमा घ्युको दियो जलाउने र कुबेरलाई सेतो मिठाई र धनवन्तरी भगवानलाई पहेँलो मिठाई चढाउनु पर्छ ।
त्यसपछि ‘ॐ ह्रीं कुबेराय नमः’ जप्ने र ‘धनवन्तरीस्तोत्र’ पाठ गर्ने । यसमा लक्ष्मी र गणेश भगवानको पूजा गर्ने गर्नुपर्छ । यसै दिन पञ्चोपचारको पूजा पनि गर्नुपर्छ । साथै, सामुन्ने माटोको दियो जलाउने र मिठाईको भोग लगाउने गर्नुपर्छ ।
धनतेरसमा के किन्ने ?
धातुका भाडा जसमा पानीको सामाग्री भए धेरै राम्रो ।
गणेश लक्ष्मीको मूर्ति ।
माटो वा फलामको दीयो ।
धन यन्त्र ।
आर्थिक लाभका लागि पानीका भाडा ।
कारोबारमा विस्तारका लागि धातुको दियो ।
सन्तानसम्बन्धी समस्याका लागि तामाको थाली ।
स्वास्थ्य तथा आयुका लागि घण्ट ।
घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा ।






