काठमाडौं (एजेन्सी) । सयभन्दा बढी युवाको समूह होहल्ला गर्दै घरभित्र प्रवेश ग¥यो । एक पुरुषले उग्र समूहको प्रतिवाद गर्न खोजे तर ती बाहुबलीका अगाडि उनको कुनै जोड चलेन । त्यो जत्थाले ती पुरुषलाई कुटपिट गर्दै घर र सवारी साधन तोडफोड मात्र गरेन, एक युवतीलाई नियन्त्रणमा लिँदै आफूसँगै लिएर गयो ।
विभिन्न स्वार्थका लागि छापामार शैलीमा मानिसको अपहरण गरिएको घटना बेलाबेला सार्वजनिक हुने गरेका छन् । तर कसैको अपहरण दलबलसहित आएको समूहले गरेको बिरलै सुन्न पाइन्छ । यस्तै अनौठो दादागिरीको घटना भारतको तेलंगाना राज्यको रंगा रेड्डी जिल्लास्थित आदिभटला क्षेत्रमा भएको छ ।
भारतीय सञ्चारमाध्यमले प्रतिवाद गर्न खोज्ने बाबुलाई कुटपिट गर्दै १०० जनाभन्दा बढीको समूहमा आएको युवाको जत्थाले घरभित्रबाटै युवतीको अपहरण गरेको जनाएका छन् ।
उक्त घटनाको भिडियोसमेत सार्वजनिक गरिएको छ, जसमा युवाको समूह हुलहुज्जतसहित ती युवतीको घरमा प्रवेश गरेको देख्न सकिन्छ ।
अपहरणमा परेकी वैशाली नाम गरिएकी ती युवतीको उमेर २४ वर्ष रहेको बताइएको छ । त्यसरी हुलहुज्ज्तसहित घरमा प्रवेश गरेर युवती अपहरणको गर्नुको कारण भने खुलेको छैन ।
घटनापछि पीडित युवतीको परिवारले प्रहरीमा जाहेरी दिएका छन् । तर अहिलेसम्म यसमा संलग्न कोही पनि पक्राउ नपरेको बताइएको छ ।