काठमाडौं । कांग्रेस संसदीय दलको नेताका लागि भएको निर्वाचनमा सांसदहरूलाई आफूले दिएको मतको तस्बिर खिच्न छुट दिइएको छ । गोप्य मतदानको तस्बिर खिच्न छुट दिइएपछि संसदीय दलको नेताका लागि शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका गगन थापाले असन्तुष्टि जनाएका छन् ।
बुधबार बिहान सुरु मतदानमा सांसदलाई मोबाइल लैजान निषेध गर्नुपर्ने माग थापाले राखेका थिए भने केहीले तस्बिर खिच्न पाउनुपर्ने अडान लिएका थिए । यो विषयमा विवाद हुँदा बुधबार बिहान पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिलो मतदान सुरु भएको थियो । निर्वाचन समितिले मोबाइलमा रोक नलगाएपछि केही सांसदले आफूले दिएको गोप्य मतदानको तस्बिर खिचेका छन् ।
झण्डै एक दर्जन सांसदले गोप्य मतदानको तस्बिर खिचेको बताइएको छ ।
गोप्य मतदानको तस्बिर खिचेपछि थापाले असन्तुष्टि जनाएका छन् । उनले तस्बिर खिचेका सांसदलाई त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न चुनौतीसमेत दिएका छन् ।