काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गर्ने भएको छ ।
सत्ताबाट बाहिरिएको १० दिनपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
सम्मेलन अपरान्ह ३ बजे हुने महतले बताए । सत्ता सहयात्री दल माओवादी केन्द्रले एमालेसँग सहकार्य गरी सरकार बनाएपछि कांग्रेस संघदेखि प्रदेशसम्म सत्ताबाट बाहिरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको दम्भ, पदलोलुपता तथा अदुरदर्शीताका कारण कांग्रेसले सत्ता गुमाउनु परेको भन्दै उनीसँग नेताहरू असन्तुष्ट रहेका छन् ।
चुनावी परिणाम, पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा समीक्षा गर्न देउवाले पुस २२ मा कार्यसमिति बैठक बोलाएका छन् । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस ८९ सिटसहित पहिलो दल भएको थियो ।
निर्वाचनअघि माओवादीसहित पाँच दलसँग गठबन्धन गरेको कांग्रेसले निर्वाचनपछि गठबन्धन जोगाउन सकेन ।