काठमाडौं । चर्चित रक एण्ड रोल स्टार एल्विस प्रेस्लीकी छोरी तथा माइकल ज्याक्सनकी पूर्वपत्नी लिसा मेरी प्रेस्लीको निधन भएको छ । उनकी आमा प्रिसिला प्रेस्लीले आफ्नो छोरी लिसा मेरीको ५४ वर्षको उमेरमा निधन भएको जनाएकी छन् ।
लिसा प्रेस्ली एक गायिका थिइन्। स्वास्थ्य बिग्रिएपछि उनलाई बिहीबार अस्पताल लगिएको थियो । मिडिया रिपोर्टका अनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो ।
अमेरिकी समाचार वेबसाइट टीएमजेडले स्रोतलाई उद्धृत गर्दै लिसा क्यालिफोर्नियास्थित आफ्नो घरमा बेहोस अवस्थामा फेला परेको बताएको छ ।
प्रिसिला प्रेस्लीले एक विज्ञप्ति जारी गर्दै निकै न्यानो र बलियो साथ गुमाएको उल्लेख गरेकी छन् ।
तर उनले छोरीको मृत्युको कारणबारे केही भनेकी छैनन् ।
सन् १९६८ मा जन्मिएकी उनले आफनो बुबाजस्तै संगीतलाई करियर बनाएकी थिइन् । उनका तीनवटा एल्बम थिए । २००३ मा उनको पहिलो एल्बमले निकै राम्रो चर्चा पाएको थियो ।
उनी आफ्नो विवाहको कारण पनि चर्चामा थिइन् । उनले पप स्टार माइकल ज्याक्सन, अभिनेता निकोलस केज र संगीतकार डेनी केउ र माइकल लकवुडसँग विवाह गरेकी थिइन्। चार पटक विवाह गरे पनि कसैसँग पनि लामो समय सम्बन्ध रहन सकेन । उनका तीन सन्तान छन् ।