काठमाडौं । चर्चित गायिका मेलिना राईले महोत्सवअन्तर्गत बिहीबार हुने कार्यक्रमलाई स्थगित गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत कन्सर्ट रद्द गरेकी जनाएकी छिन् ।
माघ १ गते ७२ जनाको ज्यान जाने गरि पोखरामा भएको यतीको विमान दुर्घटनाको कारणले आफ्नो प्रतिष्ठा र भित्री आत्माले त्यहाँ पुगेर कार्यक्रम गर्न नदिएको उल्लेख गर्दै उनले कन्सर्ट स्थगित गरेकी बताएकी छिन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘माघ ३ गते बेलुका पोखरा महोत्सवमा प्रस्तुति दिने भनेर जानकारी गराएकी थिएँ, तर आज राति पोखरा महोत्सवमा मेरो उपस्थिति रद्द भएको घोषणा गर्दा म साँच्चै दुःखी छु । पोखरामा त्यो घटना घटेपछि मलाई त्यो कार्यक्रम गर्न साँच्चै गाह्रो छ ।मेरो प्रतिष्ठा र भित्री आत्माले मलाई त्यसो गर्न दिएन । त्यसैले मैले कार्यक्रम छोड्नुपर्यो । म तपाईंहरु सबैप्रति माफी माग्न चाहन्छु । मैले कार्यक्रम रद्द गरेकी हुँ, आयोजकले होइन । मैले गरेको निर्णयको लागि आयोजक टोलीसँग माफी माग्न चाहन्छु । प्रिय पोखरा म अर्को पटक भेट्नेछु ।’
साथै उनले पोखरा विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा श्रद्धाञ्जली व्यक्त गरेकी छिन् ।