सुन प्रेम,
आज तिम्रो चिता मात्रै जल्दै छैन,
जल्दैछ यो देशको सम्पूर्ण राज्यव्यवस्था,
त्यो व्यवस्थाको नीति, कानुन र
त्यसको कार्यान्वयनको दुर्दशा
र जल्दैछ, नीति–निर्माताहरूको जड्ता
प्रशासनको उदण्डता
दनदनी, दनदनी !
बुझ प्रेम,
हिजो तिमीले आत्मदाह गरेका होइनौं
आत्मदाह गरेको हो, हरेक दलका घोषणापत्रहरूले
र त्यसभित्र ठुसिएका खोक्रा आश्वासनहरूले
प्वाट्ट फुटेर छताछुल्ल भएको हो सडकमा
कथित नेताका झुटका पुलिन्दा र स्वार्थहरू
अनि लगाएका हुन् तिनले आगो आफैंलाई
ह्वारह्वारी, ह्वारह्वारी
देख्यौ प्रेम,
यो सबमा घिउ केले थप्दै छ ?
सफल व्यवसायीका कुनियत र बेइमानीले
नाफाखोरीको डरलाग्दो ख्याकले
जसले हर मस्तिष्कमा डेरा जमाइसक्यो
अनि नागरिक हुन नजानेका जनताले
र नैतिकता खुइलिएका स्वार्थी आकांक्षाहरूले
तपतपी, तपतपी !
हेर प्रेम,
टुहुरा तिम्रा छोरीहरू मात्रै भएनन् आज
देशमा गरी खान्छु भन्ने हरेक युवाहरु भए
यहाँ केही गर्न सकिन्छ भनेर सम्झाउने
हरेक अभिभावकहरू भए
र ट्वाल्ल परे सबै उद्यमशीलताका अभियन्ताहरू
जो भन्छन, ‘सफलता तिम्रै हातमा छ’
सनसनी, सनसनी !
तर प्रेम,
आज तिम्रो आत्माको चिर शान्तिको कामनासँगै
दुई कुरा मात्रै सोच्न लायक पाएँ आफूलाई
एक, उद्यमीका रूपमा टिकिरहेको छु कसरी ?
यो सोचमा उद्देलित हुनु र छक्क पर्नु, एकैचोटि
र, बाँकी सबै नेपालका उद्यमीका जोस, जाँगर र आँट
तिम्रो चितासँगै सती नजाओस भन्ने कामना गर्नु हजारौंचोटि