काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा छानेको छ ।
उक्त २८ जनामा बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका पूर्वकप्तान सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन ।
लामिछानेविरुद्ध एक नाबालिकमाथि जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीसमक्ष किटानी दर्ता भएपछि उनी असोज २० गते त्रिभुवन विमान स्थलबाट पक्राउ परेका थिए ।
त्यसपछि जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो । विदेश रहेकै बेलामा लामिछानेविरुद्ध उजुरी परेपछि उनको कप्तान पद निलम्बनमा परेको थियो ।
पुनरावेदनमा उच्च अदालत, पाटनले २० लाख धरौटीमा २९ पुसमा थुनामुक्त भएका थिए ।
थुनामुक्त भएसँगै क्रिकेट संघका पदाधिकारीहरुले खेलमा फर्काउने विषयमा छलफल गरेर टिममा ल्याउने तयारी गरेका थिए । तर शुक्रबार घोषित प्रारम्भिक टोलीमा उनी अटाएनन् ।
टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी, विनोद भण्डरी, सागर ढकाल र सन्दीप जोरा, किशोर महतो, कमल सिंह ऐरीलगायत छन् ।