काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर सोमबार बिहान मेयर साहले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।
दुईबीच आधा घण्टा बढी समय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । भेटवार्ताको विषयबारे भने केही बताइएको छैन । तर सार्वजनिक स्थान कब्जा गरेर बनाइएका अवैध संरचना हटाउन उनले प्रधानमन्त्रीसँग साथ मागेको बताइएको छ ।
बालेनले यसअघि तत्कालीन उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेसँग पनि यस्तै सहयोगको आग्रह गरेका थिए ।
बालेनले सार्वजनिक जग्गा कब्जा गरी बनाइएका तथा नक्सापासबिना खडा गरिएका संरचना हटाउन सुरु गरेपछि उनीविरुद्धका आवाज चर्को सुनिन थालेको छ । नयाँ आसाको सञ्चार गराएर मेयरमा विजयी भए पनि पुरानै शासकको निरंकुश शैली अपनाएको आरोप उनीमाथि छ । साथै प्रश्नबाट भागेको गुनासो पनि बढेको छ ।
आइतबार मात्रै उनीविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको थियो । यो बालेनविरुद्ध संगठित रूपमा भएको पहिलो विरोध कार्यक्रम हो ।