काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धबल शमशेर राणाले अहिलेकै संविधानमा टेकेर राजतन्त्र पुर्नस्थापना गर्ने चेतावनी दिएका छन् ।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सनातन हिन्दूराज्य र राजतन्त्र स्थापना गर्न कसैले रोक्न नसक्ने उनले जिकिर गरे । प्रतिनिधिसभामा एमाले सांसद रघुवीर पन्तले राप्रपाका सांसद र मन्त्री संविधान बाहिर गएर गणतन्त्रविरुद्ध बोलेको आरोप लगाउँदै आलोचना गरेका थिए ।
त्यसको प्रतिवाद गर्दै राणाले राजतन्त्र पुर्नस्थापना गर्न संविधानले नरोक्ने चेतावनी दिए । ‘हाम्रो पार्टी संख्यामा सानो भएपनि जनताको मनमा बस्न सफल भएको छ । एक जना माननीयले हामीलाई संविधान विपरित बोलेको आरोप लगाएका छन्’, उनले भने, ‘म चेतावनी दिन चाहन्छु सनातन हिन्दूराज्य र राजतन्त्र पुर्नस्थापनाका लागि संविधानले रोक्न सक्दैन । हामी विद्रोह नगरी यही संविधानमा टेकेर उपयुक्त समयमा राजसंस्था पुर्नस्थापना गरी छाड्छौं ।’
सत्ता साझेदार दल एमाले र राप्रपाका नेताहरूबीच संघीयता, संविधानको विषयमा संसदमा घोचपेच चलेको थियो ।