काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेमबहादुर सुवालले बुढी गण्डकी आयोजनामा अर्बौं भ्रष्टाचार भएको आरोप लगाउने र आरोपित सबैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत छानबिन गर्न माग गरेका छन् ।
बुधबार संसदको विशेष बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार आरोपित बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र केपी ओली र आरोप लगाउने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अनसन्धानको दायरामा ल्याइ छानबिन गर्न माग गरेका हुन् ।
‘एक जान पूर्वप्रधानमन्त्रीले बुढी गण्डकी जलविद्युत आयोजनामा वर्तमान प्रधानमन्त्रीसहित दुई पूर्वप्रधानमन्त्रीले अर्बौं रकम भ्रष्टाचार गरेको आरोप लगाएका थिए । त्यसबारे अहिलेसम्म कसैलाई पनि अनुसन्धानको दायरा ल्याइएको छैन’, उनले भने, ‘भ्रष्टाचारको आरोप लगाउने र आरोपित तीनै जनामाथि अख्तियार दुरुपयोगमार्फत छानविन होस् ।’
भट्टराईले २२ असोज, २०७७ मा गोरखाको पालुङटारमा आयोजित एक कार्यक्रममा बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।
त्यतिबेला उनले तीन प्रधानमन्त्रीले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको बताएका थिए । उक्त अभिव्यक्तिपछि निकै दबाबमा रहेका भट्टराईले पछि बोली फेरेका थिए ।