काठमाडौं । काठमाडौंको शालीनदीमा लागेको माधवनारायण मेलामा एक करोड दुई लाख ४४ हजार सहयोग संकलन भएको छ ।
गत पुस २२ देखि सुरु भएको एकमहिने स्वस्थानी (माधवनारायण मेला) को अन्तिम दिन आइतबारसम्म उक्त रकम सहयोग स्वरुप संकलन भएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
गतवर्ष कोरोनाका कारण भक्तजनका सङ्ख्या कम हुँदा सहयोग रकम कम संकलन भएको थियो । यसवर्ष भक्तजनका सङ्ख्यामा वृद्धि हुनुका साथै शालीनदीमा आसपासमा सञ्चालन गरिएका पसलबाट भाडा उठाएकाले रकम बढी संकलन भएको श्रेष्ठले भनाइ थियो ।
उनका अनुसार संकलन भएको रकम र भाडाबाट उठेको पैसा माधवनारायण मन्दिर निर्माणमा खर्च गरिने छ । मन्दिरमा चढाइएको रकम माधवनारायण मेलामा खटिने कर्मचारी र मन्दिर व्यवस्थापनमा खर्च गरिने छ ।
एक महिनासम्म चलेको उक्त मेलामा यसवर्ष ३० लाखभन्दा बढी भक्तजनले मेला भरेको समितिले जनाएको छ ।