काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ऐन कानूनहरु नमाने ९ वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन नमानेको, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई नियम विपरित सेवा सुविधा दिएको, नियम विपरित प्रिमियम बढाएको, पूँजी पर्याप्तता ढाँचा अनुसारको विवरण नबुझाएकोलगायतका कसुरमा कारवाही गरेको हो ।
राष्ट्र बैंकले प्रभु बैंक, कुमारी बैंक, तत्कालिन बैंक अफ काठमाण्डू ९हाल ग्लोबल आइएमई बैंक० र प्राइम कमर्सियल बैंकलाई सम्पति सुद्धिकरण सम्बन्धी नियम नमानेको भनेर पचास लाख रुपैयाँका दरले जरिवाना लगाएको छ।
यसबाहेक माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पूँजी पर्याप्तता ढाँचा अनुसार पुँजी कोषको यथार्थ विवरण रिर्पोटिङ नगरेको भनेर सचेत गराएको छ । नबिल बैंकलाई खाता रोक्का राख्न निर्देशन दिँदापनि नयाँ खाता खुलाएको केसमा राष्ट्र बैंकले सचेत गराएको छ ।
सानिमा बैंकलाई पनि नियम विपरित प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा दिएको भनेर सचेत गराएको छ । नियम बिपरित बढी प्रिमियम लिएकोले केसमा राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक र सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराएको छ ।
कर्जा सूचना तथा कालोसूची सम्बन्धी नीतिमा भएको व्यवस्था पालना नगरेपछिछ प्रभु बैंकलाई पनि सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।