कञ्चनपुर । ‘बर्थ डे केक’मा नशालु पर्दाथ खुवाएर लुटपाट गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन ।
भीमदत्त नगरपालिका–३मा सन्तोष पाण्डेको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाएर लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहकाअनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरु सन्नी भनिने सेरा जाट र साहिल शर्मा छन् । २०७८ माघ देखी उनीहरु पाण्डेको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।
प्रहरीका अनुसार दुवै जनाले आफ्नो जन्मदिन भएको भन्दै पाण्डेका परिवारलाई केकमा नशालु पदार्थ मिसाइ खान दिएका थिए । सो केक खाएपछि परिवारका सबै जना बेहोस भएलगत्तै घर भाडामा बस्दै आएका भारतीय नागरिकहरुले गरगहना, मोबाइल सेट, ल्यापटपलगायतका सामग्री लुटेर फरार भएका थिए ।
सो घटना लगत्तै फरार भएका सेराजाट र शर्मालाई पक्राउ गरी सोमबार भने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याइएको छ ।