स्विडेनमा जन्मदर अत्यन्त न्यून
स्टकहोम । स्विडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्याङ्क सार्वजनिक भएको छ । सन् २०२२ को पहिलो छ महिनाको जन्मदर हेर्दा १६ वर्ष पछिकै सबैभन्दा कम जन्मदर देखिएको हो ।
स्विडेनको तथ्याङ्क अधिकारीहरूले औपचारिक रुपमा बिहीबार दिएको जानकारी अनुसार यस अवधिमा ५४ हजार ६५० जना जन्मिएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.७ प्रतिशत कम हो । सन् २००६ पछिकै सबैभन्दा कम जन्मदर यस वर्षको अघिल्लो छ महिनामा देखिएको हो ।
स्विडेनका जनसङ्ख्या शास्त्री टोमस जोनसनले यस वर्षका हरेक महिना अघिल्लो वर्षका हरेक महिनाभन्दा कम जन्मदर देखिएको बताए । जन्मदर घट्नुको पछाडि धेरै कारण हुन सक्ने विज्ञहरूको भनाई छ । प्राध्यापक गुनार अन्डेर्सन जन्मदर घट्नुलाई विभिन्न तरिकाले हेर्न सकिने बताउछन् ।
सामान्यतयाः कोरोना भाइरसको महामारी, कोरोना भाइरस विरुद्धको खोप अभियान, आर्थिक सङ्कट लगायतका कारण मुख्य कारण हुन सक्ने उनको बुझाई छ ।
गत जुन ३० सम्मको तथ्याङ्क अनुसार स्विडेनको अहिलेको कुल जनसङ्ख्या एक करोड चार लाख ८७ हजार ८५९ रहेको छ ।