अल्मुताइरीका कारण एएफसीद्वारा एन्फालाई ७ हजार डलर जरिवाना
काठमाडौँ । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार डलर जरिवाना गरेको छ ।
एएफसीले लगाएको यो जरिवाना नेपाली राष्ट्रिय फुटबल टिम सम्हालेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग जोडिएको छ ।
गत जेठमा कुवेतमा भएको एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत निलम्बित भएको समयमा अल्मुताइरी ‘ड्रेसिङ रुम’ र मैदानमै पुगेको भन्दै अनुशासनको कारवाही गर्दै एन्फालाई सो जरिवाना गरिएको हो ।
अल्मुताइरी सुरुका दुई खेलमा लगातार पहेँलो कार्ड पाएपछि इन्डोनेसियाविरुद्धको अन्तिम खेलमा निलम्बनमा परेका थिए ।
एएफसीको अनुशासन तथा नैतिक समितिले एन्फालाई ६ हजार अमेरिकी डलर जरिबाना गर्ने निर्णय गरेको हो । त्यसका अतिरिक्त इन्डोनेसियाविरुद्धको खेल ढिलो शुरु गरेको भन्दै एन्फालाई थप एक हजार डलर जरिवाना गरिएको छ ।
एएफसीको अनुशासन समितिले दुई वर्षभित्र उक्त घटना दोहोर्याएमा कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
एसियन कप २०२३ छनोटको तेस्रो चरणमा नेपाल जोर्डनसँग २-० ले कुवेतसँग ४-१ ले र इन्डोनेसियासँग ७-० ले हारेको थियो ।