आसिफको शतकसँगै केन्याविरुद्ध नेपाल ७ विकेटले विजयी
काठमाडौँ । नेपालले केन्याविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न पहिलो एक्दिवैस्य खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गर्दै ३ खेलको सिरिजमा विजयी शुरुवात गरेको हो ।
केन्याले दिएको २१९ रनको लक्ष्य पछाएको नेपालले ४७.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपाललाई जित दिलाउने क्रममा विकेटकिपर ब्याट्सम्यान आसिफ सेखले शतकीय पारी खेलेका थिए । आसिफले १२० बलमा ११० रन बनाएर आउट भएका थिए ।
त्यस्तै यस खेलमा आसिफ र अर्जुन साउदबीच पहिलो विकेटका लागि १४१ रनको साझेदारी भएको थियो । अर्जुनले ९७ बलमा ६१ रन बनाएका थिए ।
त्यस्तै ज्ञानेन्द्र मल्लले २४ रन बनाए भने यस खेलमा कप्तानी गरिरहेका रोहित पौडेलले अविजित ३ र दिपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको केन्याले ४८.१ ओभरमा २१८ रन बनाएको थियो ।
यो जितपछि ३ खेलको सिरिजमा नेपाल १-० ले अगाडी भएको छ । अब दोस्रो खेल शनिबार हुने छ ।