रविन्द्र जडेजा टी-२० विश्वकपबाट पनि बाहिरिए
काठमाडौँ । यसै वर्ष अक्टोबरमा सुरु हुने टी–२० विश्वकपअघि भारतलाई ठूलो धक्का लागेको छ । अलराउन्डर रविन्द्र जडेजा विश्वकपबाट पनि बाहिरिएका छन् ।
पीटीआईका अनुसार जडेजाको घुँडाको शल्यक्रिया गर्नुपर्ने र पूर्ण फिट हुन लामो समय लाग्ने भएपछि उनी अर्को महिना अष्ट्रेलियामा हुने विश्वकपबाट पनि बाहिरिएका हुन् ।
घुँडाको चोटका कारण जडेजा एसिया कपबाट बाहिरिएका थिए । उनको स्थानमा रिजर्भ खेलाडी अक्षर पटेललाई मौका दिइएको छ ।
पाकिस्तानविरुद्धको खेलमा जडेजाले २९ बलमा २ छक्का र २ चौका सहित ३५ रनको उत्कृष्ट पारी खेलेका थिए । हङकङविरुद्धको दोस्रो लिग खेलमा जडेजाले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १५ रन मात्र खर्चेर विकेट लिएका थिए ।
२०२२ मा ५० भन्दा बढीको औसतमा रन बनाइरहेका जडेजा टी–२० क्रिकेटमा उत्कृष्ट फर्ममा रहेका थिए । यो वर्ष उनले ९ खेल खेलेर ५०.२५ को औसतमा २०१ रन बनाएका छन् । यस अवधिमा उनको स्ट्राइक रेट १४१.५४ रहेको छ । त्यस्तै उनले ९ खेलमा ५ विकेट लिएका छन् ।