बलात्कारको आरोप लागेका नेपाल राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको र न्याय पाउनेमा विश्वस्त रहेको बताएका छन्।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्न सेन्ट लुसियामा रहेका लामिछानेले शुक्रबार बिहान सामाजिक सञ्जाल मार्फत आफ्नो भनाइ राखेका छन्। “म निर्दोष छु,” लामिछानेले भनेका छन्, “नेपालको कानूनप्रति भरोसा छ।”
उनले सीपीएल पनि छाडेका छन्। लामिछानेले भनेका छन्, “मैले सीपीएल छाड्ने निर्णय गरेको छु र छिट्टै स्वदेश फर्किनेछु।”
नेपाली राष्ट्रिय टोलीसँगै केन्या गएका उनी टी-२० श्रृंखलापछि सीपीएल खेल्न सेन्ट लुसिया पुगेका थिए। सीपीएल जारी रहेको छ। उनले सीपीएल सकेर आउने बताएका थिए।
तर, बलात्कारको आरोपमा पक्राउ पुर्जी जारी भएपछि तत्काल फर्किन लागेका हुन्। प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न भदौ २३ गते काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइसकेको छ।
उनी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले पनि राष्ट्रिय टोलीबाट निलम्बन गरेको छ। बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो।
उनले आफू विरुद्ध लागेका सबै आरोपको सामना गर्ने बताएका छन्। लामिछानेले भनेका छन्, “म सबै आधारविहीन आरोपहरुको सामना गर्न तयार छु।”