
काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुगेको बताएका छन् ।
आज (सोमबार) काठमाडौंको विशालनगरमा पुनर्निमित पञ्चकुमारी धर्मशालाको उद्घाटन गर्दै पोखरेलले संसद, न्यायालय र सरकारको अवस्था हेर्दा लाज मान्नुपर्ने अवस्था आएको बताए ।
उनले राजनीतिक दलहरुमा पनि विकृति पैदा भएकाले खबरदारी गर्नुपर्ने बेला आएको बताए । मुलुकलाई सही दिशामा लैजान अहिलेको प्रणालीलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ । पोखरेलले दलीय प्रणालीलाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेमा जोड दिए ।
वागमती प्रदेश सांसद नारायण सिलवालले मापदण्डको पूर्वजानकारी नराखी काठमाडौं महानगरले आतंक फैलाएर संरचना भत्काउने काम गरेको आरोप लगाए । उनले एक जना व्यक्ति पनि अन्यायमा नपर्ने गरी महानगरले आफ्नो काम अघि बढाउनुपर्ने बताए । उनले आतंकको रुपमा नभई सचेतना फैलाउदै सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने धारणा राखे ।

