
काठमाडौं । इटालियन सिरी ‘ए’ को क्लब नेपोलीले एक शून्यले पछि परेको स्थिति उल्टाउँदै मंगलबार राति च्याम्पियन्स लिगमा आयाक्समाथि ६–१ को फराकिलो विजय हसिल गरेको छ ।
नेदरल्यान्ड्सको क्लब आयाक्सले नवौँ मिनेटमा मोहम्मद कुडुसको गोलबाट अग्रता लिएको थियो । पाहुना टोली नेपोलीका जियाकोमो रास्पाडोरीले १८औं मिनेटमा बराबरी गोल फर्काए । ३३ औं मिनेटमा जियोभानी डी लोरेन्जोले गरेको गोलबाट नेपोलीले अग्रता लिन सफल भयो ।
४५ औं मिनेटमा पिएट्र जेलिनस्कीले नेपोलीको अग्रता बढाए । ४७ औं मिनेटमा रास्पाडोरीले गरेको गोलबाट नेपोलीले ४–१ अग्रता लियो । ६३औं मिनेटमा खिचा कारात्सखेलियाले पाँचौँ गोल थपे । खेल सकिन ९ मिनेट बाँकी हुँदा जियोभानी सिमोनीले अर्को गोल गरेपछि नेपोलीले सहज जित दर्ता गरेको हो ।
जितसँगै नेपोली च्याम्पियन्स लिगमा समूह ‘ए’को शीर्ष स्थानमा छ । नेपोलीले तीन खेलबाट ९ अंक जोडेको थियो । पराजित आयाक्स ३ अंकका साथ तेस्रो स्थानमा छ । जुन दोस्रो स्थानको लिभरपुलभन्दा तीन अंकले पछाडि हो । इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलले गएराति रेन्जर्सलाई २–० ले हराएको थियो । रेन्जर्सले अंक जोड्न सकेको छैन ।






