
बारा । बारामा आज (विहीबार) बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएका १६ मध्ये १४ जनाको सनाखत भएको छ । मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार सनाखत हुनेमा बारा कलैया–२ का अन्दाजी ४०-४१ वर्षीय लिलाराज चौधरी, चितवन खैरहनी–५ बुडौलीका अन्दाजी ६३ वर्षीया नन्द कुमारी पुडासैनी र चितवनन कालिना नगरपालिका रमाइलोचोकका अन्दाजी १४-१५ वर्षीय सफल कँडेल रहेका छन् ।
त्यस्तै, वीरगञ्ज–१६ का ६५ वर्षीय सोमप्रसाद चौरासिया, ३५-३६ वर्षीया मन्निदेवी चौरासिया र १९-२० वर्षका स्वस्तिका श्रेष्ठ, बारा कलैया–१० बस्ने अन्दाजी ३५–३६ वर्षीय नाजलिन खातुन, बारा जितपुर सिमरा–२२ का २८ वर्षीय सुरेश बिक, बारा कलैया–१० का अन्दाजी २५ वर्षीय इजाजत अन्सारी र ओखलढुंगाका लालबहादुर बोगटीको पनि सनाखत भएको छ ।
गौतमका अनुसार चितवन खैरेनी–५ का ३५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाका ३५ वर्षीया अम्बिका कँडेल र जनकपुर उपमहानगरपालिका–५ का ५० वर्षीय सन्तोष कुमार यादवको सनाखत भएको छ भने हेटौंडा अस्पतालमा रहेका २ मृतकको पहिचान खुल्न सकेको छैन । बसमा सवार यात्रुको संख्या एकिन हुन नसके पनि झण्डै ५० जना सवार रहेको प्रहरीले जनाएको छ । नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा दुर्घटना भएको हो ।






