
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
पोखरेलले मंसिर ४ मा हुने निर्वाचनमा विजयका लागि द्विविधा नरहेको बताएका छन् । काठमाडौं ५ बाट उमेदवारी मनोनयन दर्ता गराउँदै उनले विजय निश्चित् रहेको दाबी गरे ।
‘निर्वाचनमा विजयका लागि द्विविधा छ भन्ने नठान्नु भए हुन्छ । हामी विजय प्राप्त गर्छौ’, पोखरेलले भने, ‘त्यसको आधार भनेको हामीले अघि सारेका विचारहरु, विगतमा गरका कामहरु, आगामी योजनाहरुले यो निर्वाचन क्षेत्रका विश्वासका मत प्राप्त गर्छौँ ।’
योसँगै एमालेको तर्फबाट प्रदेश सदस्यका लागि दीपक निरौला र नारायण सिलवालले मनोनयन दर्ता गराएका छन् । २०७४ को निर्वाचनमा पनि पोखरेल काठमाडौं ५ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०५४ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित पोखरेल २०५६ सालमा काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
२०१० सालमा ओखलढुंगामा जन्मिएका पोखरेल २०२४ सालदेखि राजनीतिमा सक्रिय छन् । यसैबीच, काठमाडौं ५ बाटै प्रतिनिधिसभा सदस्यका लागि नेत्री रन्जु दर्शनाले मनोनयन दर्ता गराएकी छन् । तत्कालीन विवेकशील साझा पार्टीबाट २०७४ को निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपमेयरमा पराजित रन्जु हाल स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिएकी हुन् ।






