
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले आफ्ना पार्टीका बागी उम्मेदवारहरूलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । माओवादी केन्द्रले विशेष परिपत्र जारी गर्दै पाँच जना उम्मेदवारलाई निष्काशन गरेको हो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज भण्डारी, अशोककुमार मण्डल, वीरेन्द्र यादव, दिपेन्द्रबहादुर पुन र काशीचन्द्र बराललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।
हेमराज भण्डारीले धनकुटाबाट प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै, अशोककुमार मण्डलले सप्तरी–१ (संघ), वीरेन्द्र यादवले पर्सा–४ (संघ), दिपेन्द्रबहादुर पुन मगरले प्रदेशतर्फ रोल्पा १ र काशीचन्द्र बराल (संघ) ले कालीकोटबाट उम्मेदवारी दिएका छन् ।
गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवार रहेको भएमा वा त्यस प्रकारका उम्मेदवारको प्रस्तावक र समर्थक रहेको भएमा पार्टीका सम्बन्धित प्रदेश समितिहरूले तत्काल केन्द्रीय कार्यालयमा कारवाहीका लागि सिफारिस गर्नुपर्ने जनाइएको छ ।
जिल्ला र स्थानीय तहका पार्टी समितिका सदस्यहरूले पार्टी र गठबन्धनको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिएको वा त्यस प्रकारका उम्मेदवारको प्रस्तावक र समर्थक रहेको भएमा पार्टीबाट निष्काशनको कारवाही गरिने माओवादी केन्द्रले जनाएको छ ।







