
नवलपरासी । पूर्वी नवलपरासीमा आज (आइतबार) विहान बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । पाल्पाको रम्भा गाउँपालिकाको हुँगिबाट मनकामना दर्शनका लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङ्गटार–२, डाँडाझेरीको मथारमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा परेर बसमा सवार ३५ जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । बाँकी ३० जना सबै घाइतेलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बस कालीगण्डकी कोरिडोरको सडकबाट १०० मिटर तल खसेको छ ।
मृतकहरुको सनाखत
दुर्घटनामा परी पाल्पाको रम्भा गाउँपालिका–१ निवासी ४१ वर्षीया तारा विक, १७ वर्षीय विनयी विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा र स्याङ्जाको गल्याङ–१ बेलचौर निवासी ४५ वर्षीया फूलमाया माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।






