चेल्सीका मुख्य प्रशिक्षक टुचेल बर्खास्त
काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब चेल्सीले आफ्ना मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ । चेल्सी व्यवस्थापनले टुचेललाई आपसी समझदारीमा प्रशिक्षकबाट हटाएको जानकारी दिएको छ ।
चेल्सीले गएराती सम्पन्न च्याम्पियन्स लिगको समुह चरणको पहिलो खेलमा डाइनामो जाग्रेबसँग १-० को हार बेहोरेपछि प्रशिक्षक टुचेललाई बर्खास्त गरेको छ ।
चेल्सीलाई नयाँ व्यवस्थापनले टेक ओभर गरेको १०० दिनमा आफ्ना मुख्य प्रशिक्षक बर्खास्त गरेको छ ।
चेल्सीले यस सिजनको प्रिमियर लिगमा समेत राम्रो शुरुवात गर्न सकेको थिएन । यस सिजनमा अहिलेसम्म खेलेका ६ खेलमा ३ जित, एक बराबरी र दुई हारसहित चेल्सीको १० अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।
जनवरी २६, २०२१ देखि चेल्सीको प्रशिक्षक पद सम्हालेका टुचेलले चेल्सीलाई च्याम्पियन्स लिग, युइएफए सुपर कप र क्लब विश्वकप जिताएका थिए ।
चेल्सीको नयाँ प्रशिक्षकको दौडमा पिएसजीका पुर्व प्रशिक्षक माउरिसियो पोचेट्टीनो र ब्राइटनका ग्राहम पोट्टरको सम्भावना रहेको बताइएको छ ।
टुचेलको नेतृत्वमा चेल्सीले कुल १०० खेल खेल्दै ६० जित, २४ बराबरी र १६ खेलमा हार बेहोरेको थियो ।