
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादव तथा नेपालका लागि इजिप्टका राजदूत नोहाहाम्दी अहमदबीच आज मन्त्रालयमा भेटवार्ता तथा छलफल भएको छ । उनीहरुका बीचमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप-२७) मा नेपालको सहभागिता र सो सम्मेलनसँग सम्बन्धित अन्य समसामयिक विषयमा छलफल भएको हो ।
जलवायुसम्बन्धी उक्त राष्ट्रसङ्घीय सम्मेलन कोप-२७ इजिप्टको शर्म-अल-शेखमा सन् २०२२ नोभेम्बर ७ देखि १८ सम्म आयोजना हुँदैछ । सो सम्मेलनमा नेपालले पनि सहभागिता जनाउँदैछ ।
आज भएको उक्त भेटका क्रममा राजदूत अहमदले कोप-२७ मा सहभागिताका लागि मन्त्री यादवलाई आग्रह गरेका थिए । मन्त्री यादवले कोप-२७ मा नेपालका तर्फबाट एक उच्चस्तरीय टोली सहभागी हुने र त्यसका लागि तयारी भइरहेको जानकारी राजदूतलाई गराएका थिए ।

