
खोटाङ । खोटाङको दिक्तेलबजार ढलानका क्रममा ड्रेन कभर (नालीको ढकनी) नराख्दा आवत-जावत गर्न जोखिम भएको छ । दिक्तेलको मानव अधिकारचोक (जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय) देखि त्रिबेणीचोकसम्मको बजार सडक ढलानका क्रममा पुरानो बेसक्याम्पदेखि बैंक अफ काठ्माडौंको बीचमा ड्रेन कभर हाल्न ढिलाइ हुँदा स्थानीयलाई आवत-जावत गर्न सकस भएको हो ।
निर्माण कम्पनी सुर्य विकास जेभी लहानले सडक ढलानका क्रममा ड्रेन कभर नहाली छाड्दा आवत-जावत गर्ने स्थानीय जोखिममा परेका छन् । आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ लालीका नावालक बोकेका बालिका नालीमा खसेका छन् । नालीमा खस्ला दुधे बालकको टाउँको ठोक्किएको छ । नालीको ढकनी तत्काल राख्न आग्रह गर्दा निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयले बताएका छन् ।

बजार सडक ढलानका क्रममा ठाउँ-ठाउँमा नालीको चार कुने प्वाल बनाइएको छ । नालीको प्वाल ढाक्ने ढकनी नहुँदा बजारमा ओदोहोर-दोहोर गर्ने कतिपय गाडी र बाईक असुरक्षित यात्रा गरिरहेका छन् । मोबाईल चलाउँदै हिँड्ने तथा नालीको ख्याल नगरी हिँड्ने स्थानीय खाल्डोमा खस्ने गरेका छन् । गत १५ मंसिरमा एक वृद्ध, १४ मंसिरमा आमासँगै हिँडिरहेका बच्चा र २६ कात्तिकमा एक विद्यार्थी नालीमा खसेका थिए ।
विशेष गरी सडक किनारामा घर भएका बालबच्चा तथा विद्यालयबाट ओहोर-दोहोर गर्ने विद्यार्थी नालीमा खस्दा चोटपटक लाग्ने गरेको स्थानीय व्यवसायी शरन बिश्वकर्माले बताए ।





