
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कारण दुर्घटनामा परेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार उनको कारण एक निजी कारसँग ठोक्किएको हो ।
सरकारका प्रवक्ता सर्गी निकिफोरोभले दिएको जानकारीअनुसार जेलेन्स्कीलाई गम्भीर चोट भने लागेको छैन । दुर्घटनामा परी कारका मलिक पनि घाइते भएका छन् । उनको अहिले अस्पतालमा उपचार भइरहेको छ । अधिकारीहरुका अनुसार यो दुर्घटनाको सबै पक्षबारे अनुसन्धान भइरहेको छ ।
यसअघि जेलेन्स्की रुसको कब्जाबाट छुटाएको इजियम सहरमा पुगेका थिए । भ्रमणको क्रममा उनले झण्डा फहाराउने कार्यक्रममा भाग लिएका थिए । पछिल्लो समय युक्रेनी सेनाले रुसी कब्जाबाट आफ्नो भूमि फिर्ताको प्रयास बढाएको छ । जेलेन्स्कीले यसअघि नै रुसले कब्जा गरेको आठ हजार वर्ग किलोमिटरको भूमिमा कब्जा जमाएको बताएका थिए ।

